नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–७ का नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ५१६ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय परिसरमा आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको हो।
स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा अस्पताल पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले आयोजना गरिएको शिविर वडा अध्यक्ष विनोद तामाङको अगुवाइ तथा सक्रियतामा सम्पन्न भएको हो। गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र आवश्यक परीक्षणको सुविधा पाएपछि स्थानीयवासीले जनप्रतिनिधिको पहलको प्रशंसा गरेका छन्।
भीमेश्वर नगरपालिका–७ वडा कार्यालय र लियो क्लब धुलिखेलको संयुक्त आयोजनामा सञ्चालित शिविरलाई धुलिखेल अस्पताल दोलखा र लेक हेड एजुकेसन, काठमाडौंले सहयोग गरेका थिए।
शिविरमा हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, दन्तरोग, छाला तथा बालरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। यसका साथै भिडियो एक्सरे तथा जनरल ओपीडी सेवासमेत सञ्चालन गरिएको थियो। विभिन्न स्वास्थ्य समस्या भएका नागरिकले एकै स्थानबाट विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिएका थिए।
स्वास्थ्य परीक्षणका क्रममा जटिल स्वास्थ्य समस्या देखिएका २१ जना बिरामीलाई थप उपचार तथा शल्यक्रियाका लागि सिफारिस गरिएको वडा अध्यक्ष विनोद तामाङले जानकारी दिए।
त्यस्तै, शिविरमा २२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) गरिएको थियो। परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। सम्बन्धित महिलालाई आवश्यक थप परीक्षण तथा उपचारका लागि सिफारिस गरिएको छ।
स्थानीयवासी नरबहादुर तामाङले गाउँमै भिडियो एक्सरे, VIA परीक्षणलगायत विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुँदा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक रूपमा कमजोर परिवारका नागरिकलाई ठूलो राहत पुगेको बताए। उनका अनुसार स्वास्थ्य परीक्षणका लागि टाढा अस्पताल जानुपर्ने खर्च, समय र झन्झटसमेत कम भएको छ।
शिविरमा सहभागी हुन आउने नागरिकको सहजतालाई समेत वडा कार्यालयले प्राथमिकतामा राखेको थियो। वडा नं. ७ को भौगोलिक अवस्था तथा नागरिकको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै वडा कार्यालयले नै स्थानीय नागरिकका लागि यातायातको व्यवस्था गरेको थियो। यसले टाढाटाढाबाट स्वास्थ्य शिविरमा आउने ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीलाई थप सहज भएको थियो।
वडा अध्यक्ष तामाङले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यकता र स्थानीयको मागअनुसार यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
गाउँमै विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य परीक्षण र आवश्यक परामर्श सेवा उपलब्ध गराउने यस्ता शिविरले समयमै रोग पहिचान, उपचारमा पहुँच विस्तार र स्वास्थ्य सेवामा स्थानीय नागरिकको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij