Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दोलखाका भरतबहादुर केसीलाई ‘ह्याट्रिक’ अवसर, भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

दोलखाका भरतबहादुर केसीलाई ‘ह्याट्रिक’ अवसर, भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ८ अष्ठमी (४ भाद्र २०८३, २० अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाबाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतबहादुर केसीले प्रदेश सरकारमा पुनः मन्त्री बन्ने अवसर पाएका छन्। मुख्यमन्त्री किरण थापामगर नेतृत्वको नयाँ मन्त्रिपरिषद् विस्तारसँगै केसीले बागमती प्रदेशको महत्वपूर्ण मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

दोलखा प्रदेशसभा–२ बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि बागमती प्रदेश सरकारमा वन तथा वातावरणमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए। एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये धेरैजना मन्त्री बन्न आकांक्षी रहे पनि केसीले सरकारमा निरन्तरता पाउँदै यसपटक अझ महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रीमा दोहोरिनुका साथै आकर्षक मन्त्रालयको जिम्मेवारी पाउनुलाई एमालेभित्र केसीको राजनीतिक प्रभाव, अनुभव र सरकार सञ्चालनमा देखाएको भूमिकाको परिणामका रूपमा हेरिएको छ। मुख्यमन्त्री थापामगर पनि यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि मुख्यमन्त्री बन्न सफल भएका छन् भने केसीले मन्त्रीकै रूपमा सरकारमा निरन्तरता पाएका छन्।

मेयर बन्ने चाहनादेखि प्रदेश सरकारसम्म

केसीसँग स्थानीय तहदेखि प्रदेश सरकारसम्म काम गरेको अनुभव छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए। नगर प्रमुखका रूपमा स्थानीय सरकार सञ्चालन तथा विकास निर्माणका विभिन्न क्षेत्रमा काम गरेको अनुभव उनले प्रदेश राजनीतिमा प्रवेश गरेपछि पनि उपयोग गर्दै आएका छन्।

केसी पुनः भीमेश्वर नगरपालिकाको नगर प्रमुखका रूपमा उम्मेदवार बन्न चाहन्थे। तर, पार्टीबाट टिकट नपाएपछि उनी प्रदेशसभा निर्वाचनमा होमिएका थिए। एमालेले उनलाई दोलखा प्रदेशसभा–२ बाट उम्मेदवार बनाएपछि भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेशसभामा निर्वाचित भएपछि केसीले बागमती प्रदेश सरकारमा मन्त्री बन्ने अवसर पाए। वन तथा वातावरणमन्त्रीका रूपमा काम गर्दै उनले प्रदेश सरकारको बजेट निर्माण तथा विभिन्न नीतिगत र कार्यक्रमगत काममा समेत भूमिका निर्वाह गरेका थिए।

अब ठूलो बजेट र धेरै योजनाको मन्त्रालय

केसीले अब सम्हाल्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश सरकारका सबैभन्दा प्रभावशाली मन्त्रालयमध्ये एक हो। प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयपछि ठूलो बजेट र धेरै विकास आयोजना समेटिने मन्त्रालयका रूपमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई लिइन्छ।

सडक, पुल, भवन, खानेपानी, यातायात तथा अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित अधिकांश महत्वपूर्ण योजना यही मन्त्रालयमार्फत अघि बढ्ने भएकाले नयाँ जिम्मेवारी केसीका लागि अवसरसँगै चुनौतीपूर्ण पनि देखिएको छ।

वन तथा वातावरणमन्त्रीका रूपमा बजेट निर्माण प्रक्रियाको अनुभव हासिल गरिसकेका केसीले अब अझ ठूलो बजेट र व्यापक कार्यक्षेत्र भएको मन्त्रालयको नेतृत्व गर्नेछन्। यसले उनको प्रशासनिक तथा राजनीतिक क्षमता परीक्षण गर्ने अवसरसमेत प्रदान गरेको छ।

मुख्यमन्त्री थापामगरलाई अघि बढाउन महत्वपूर्ण भूमिका

एमालेभित्र किरण थापामगरलाई मुख्यमन्त्री बनाउने अभियानमा केसीले महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी स्रोतले जनाएको छ। पार्टीभित्रको समीकरण व्यवस्थापनदेखि थापामगरको पक्षमा समर्थन जुटाउने प्रक्रियामा उनको सक्रिय भूमिका रहेको बताइएको छ।

स्थानीय सरकारको नेतृत्व गरिसकेको अनुभव, प्रदेश सरकारमा मन्त्रीका रूपमा काम गरेको पृष्ठभूमि, पार्टीको नीति र निर्णयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता तथा प्रखर वक्ताका रूपमा रहेको पहिचानका कारण उनलाई पुनः सरकारमा समेटिएको एमाले स्रोतको दाबी छ।

नयाँ जिम्मेवारीसँगै केसीको अगाडि बागमती प्रदेशको पूर्वाधार विकासलाई गति दिने चुनौती थपिएको छ। विशेषगरी सडक, पुल, खानेपानी, भवन तथा प्रदेशका ठूला विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, बजेट खर्चको अवस्था सुधार र आयोजना सम्पन्न गर्ने विषय उनको कार्यकालका प्रमुख परीक्षा बन्नेछन्।

दोलखाबाट निर्वाचित सांसदका रूपमा प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएसँगै जिल्लाका विकास आयोजना र पूर्वाधार निर्माणमा समेत उनको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ। अब केसीले नयाँ जिम्मेवारीलाई कति प्रभावकारी रूपमा अघि बढाउँछन् भन्ने विषय प्रदेश सरकारसँगै दोलखावासीका लागि समेत चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार