नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १० दशमी (६ भाद्र २०८३, २२ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका मतभेद र विवादको समाधान अदालतमा नभई आन्तरिक संवाद र छलफलबाट खोज्नुपर्ने बताएका छन्।
शनिबार नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रमको उद्घाटन गर्दै शर्माले पार्टीका नेता–कार्यकर्ताले पार्टी कार्यालयमै बसेर आपसी छलफलमार्फत समस्याको निकास खोज्नुपर्ने धारणा राखे। उनले पार्टीभित्रका असहमति र विवादलाई कानुनी प्रक्रियामा लैजानुभन्दा संवाद, सहमति र आपसी समझदारीबाट समाधान गर्नु उपयुक्त हुने बताए।
शर्माले पार्टीभित्र उत्पन्न विवादलाई अदालतसम्म पुर्याउने प्रवृत्तिले संगठनात्मक एकतालाई कमजोर बनाउन सक्ने संकेत गर्दै कांग्रेसका नेता–कार्यकर्ताबीच खुला र जिम्मेवार संवाद आवश्यक रहेको बताए। पार्टीभित्रको समस्या पार्टीकै संरचनाभित्रबाट समाधान गर्न सकिने उनको भनाइ थियो।
उपसभापति शर्माले विशेष महाधिवेशनपछि बनेको वर्तमान नेतृत्वलाई स्थायी संरचनाका रूपमा नलिन पनि आग्रह गरे। आगामी असोजमा हुने कांग्रेसको केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने भएकाले त्यसलाई सबै नेता–कार्यकर्ताका लागि खुला अवसरका रूपमा लिनुपर्ने उनले बताए।
उनका अनुसार सभापति, उपसभापति, महामन्त्रीलगायत पार्टीका विभिन्न पदमा प्रतिस्पर्धा गर्न इच्छुक नेता–कार्यकर्ताले आगामी महाधिवेशनमा आफ्नो दाबी प्रस्तुत गर्न सक्नेछन्।
महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने शर्माको धारणा थियो। उनले कांग्रेसको भविष्यका लागि स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यास आवश्यक रहेकोमा जोड दिए।
शर्माले राजनीतिक दलको भूमिका सरकार गठन गर्ने तथा निर्वाचन जित्ने वा हार्ने विषयमा मात्र सीमित हुन नहुने बताए। दलहरूले नागरिकका दैनिक समस्या, सामाजिक सरोकार, न्याय र जनजीविकाका विषयमा पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक दलहरू समाजसँग निरन्तर जोडिनुपर्ने बताउँदै नागरिकका आवाज र समस्यालाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए। दलले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा रहँदा पनि जनताका मुद्दामा सक्रिय भूमिका खेल्नुपर्ने शर्माले बताए।
यसै क्रममा शर्माले बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले घटनाको विरोधमा भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरे।
शर्माले पीडित परिवारले न्याय पाउनुपर्नेमा जोड दिँदै यस्ता जघन्य अपराधका घटनामा राज्य संवेदनशील र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने बताए। महिला तथा बालिकामाथि हुने हिंसा रोक्न प्रभावकारी कानुनी कार्यान्वयनसँगै समाजको चेतना र राज्यको जिम्मेवारी दुवै बलियो हुनुपर्ने उनको धारणा थियो।
गरिमा चौधरीको घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले काम गर्नुपर्ने शर्माले बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij