पछिल्लो समय विद्यालय तथा कलेजमा अध्ययनरत किशोरहरूबीच लामो कपाल पाल्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। यसले अभिभावक र विद्यालय प्रशासनलाई चिन्तित बनाएको छ भने कपाल काट्ने विषयमा विद्यालय र विद्यार्थीबीच नयाँ बहससमेत सुरु भएको छ।
कृष्णपुरका विनोद ढकालका अनुसार कक्षा ९ मा अध्ययनरत उनका छोराले कपाल छोटो बनाउन मान्दैनन्। विद्यालयबाट समेत कपाल काट्न आग्रह गर्दै फोन आउने गरेको उहाँ बताउनुहुन्छ। “विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर फोन आएको छ। घरमा पनि कपाल छोटो बनाउन भन्दा मान्दैन,” उहाँले भन्नुभयो।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न आग्रह गर्न छाडेपछि कक्षा ७ मा पढ्ने कान्छो छोराले समेत त्यही बाटो पछ्याएको उहाँ बताउनुहुन्छ।
यस्ता घटना अहिले अपवाद होइनन्। अधिकांश अभिभावकले आफ्ना छोराहरूले कपाल छोटो बनाउन नमानेको गुनासो गर्ने गरेका छन्। कतिपय किशोरहरूले लामो कपाललाई व्यवस्थित राख्न वा कोर्नसमेत रुचि नदेखाउने गरेको अभिभावकहरूको भनाइ छ।
विद्यालयहरूले पनि यस विषयमा खुला रूपमा दबाब दिन छाडेका छन्। विद्यार्थीहरूले कपाल काट्न बाध्य बनाएको भन्दै हेलो सरकार तथा प्रहरीमा उजुरी गर्न थालेपछि विद्यालयहरू सावधानी अपनाउन बाध्य भएका हुन्।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै विद्यार्थीहरूले हेलो सरकारमा उजुरी दिने गरेका छन्। विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, छात्रावासमा बस्ने वा अभिभावकबाट टाढा रहेका विद्यार्थीहरूमा यस्तो प्रवृत्ति बढी देखिएको उहाँको भनाइ छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीका अनुसार देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध जबर्जस्ती कपाल काट्न लगाएको भन्दै उजुरी परेको जानकारी आएको छ। “अहिले कपाल काट्ने विषयमा विद्यालयले हस्तक्षेप गर्न सक्ने अवस्था छैन। विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा यो प्रवृत्ति बढी देखिएको छ,” उहाँले भन्नुभयो।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (दशौँ संशोधन) ले समेत विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाइने व्यवस्था गरेको छ। नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पार्ने गतिविधि गर्न नपाइने उल्लेख छ। साथै विद्यार्थीको शारीरिक स्वरूप, पहिरन वा साजसज्जाका आधारमा होच्याउन वा लाञ्छित गर्न पनि निषेध गरिएको छ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत र विश्वव्यापी फेसन संस्कृतिको प्रभावका कारण किशोरहरूमा लामो कपालप्रतिको आकर्षण बढेको हो।
“नक्कल गर्ने मानवको स्वाभाविक गुण हो। सेलिब्रेटीहरूले अपनाएको शैली किशोरहरूले पनि पछ्याउन चाहन्छन्,” उहाँले भन्नुभयो। इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि बढेकाले अहिलेका बालबालिका र किशोरहरूले विश्वव्यापी फेसन प्रवृत्तिको प्रभाव छिट्टै ग्रहण गर्ने गरेको उहाँको भनाइ छ।
डा. घिमिरेका अनुसार कपाल पाल्नु आफैंमा नकारात्मक कुरा होइन। तर त्यसको उचित स्याहारसुधार गर्न नसक्दा समय र खर्च बढ्नुका साथै पढाइमा समेत असर पर्न सक्ने सम्भावना रहन्छ। घर र विद्यालय दुवैतर्फबाट आउने नियन्त्रण वा दबाबको विरोधस्वरूप पनि कतिपय किशोरहरूले लामो कपाललाई आफ्नो पहिचान र स्वतन्त्रताको प्रतीकका रूपमा अपनाउने गरेको उहाँको विश्लेषण छ।
विज्ञहरूका अनुसार लामो कपालको उचित हेरचाह नगर्दा जुम्रा, चाया, छालासम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जोखिम बढ्न सक्छन्। विशेषगरी बाक्लो र लामो कपालमा पसिना तथा फोहोर जम्ने भएकाले गर्मी मौसममा थप समस्या देखिन सक्छ।
किशोरहरूमा बढ्दो लामो कपालको मोहलाई केवल अनुशासनको प्रश्नका रूपमा नभई बदलिँदो सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रवृत्तिका रूपमा बुझ्नुपर्ने आवश्यकता देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij