नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २, त्रयोदशी (१० भाद्र २०८३, २५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा पारदर्शिता र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिँदै सूचीकृत कम्पनीका ठूला सेयरधनीलाई सेयर बिक्रीसम्बन्धी जानकारी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।
अब सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो कुल स्वामित्वको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कारोबार हुनुभन्दा कम्तीमा १५ दिनअघि नै जानकारी दिनुपर्नेछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मंगलबार जारी निर्देशनअनुसार उक्त जानकारी सम्बन्धित कम्पनीमार्फत सार्वजनिक गरिनेछ र नेप्सेले लगानीकर्तालाई समेत जानकारी गराउनेछ। सार्वजनिक गरिएको सूचना तीन महिनासम्म मान्य रहने व्यवस्था गरिएको छ।
सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार ठूला सेयरधनीको किनबेच गतिविधिबारे सर्वसाधारण लगानीकर्तालाई जानकारी गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।
“ठूला सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्दा त्यसको प्रभाव बजारमा पर्न सक्छ। त्यसैले पारदर्शिता बढाउन र लगानीकर्तालाई समयमै सूचना दिन यो व्यवस्था गरिएको हो,” उनले बताए।
कम्पनी ऐनअनुसार २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीमा पाँच प्रतिशत वा सोभन्दा बढी मताधिकार भएका सेयरधनी तथा २५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका व्यक्ति वा संस्थालाई आधारभूत सेयरधनी मानिन्छ।
सेबोनले दोस्रो बजारमा सेयर कारोबारलाई थप सहज बनाउन मोबाइल एपमार्फत कारोबार गर्न सकिने प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएको छ।
यसैगरी नयाँ लगानीकर्ता र विद्यार्थीलाई सेयर बजारबारे व्यवहारिक ज्ञान दिन सञ्चालनमा रहेको डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर र अवरोधरहित रूपमा सञ्चालन गर्न पनि भनिएको छ।
बजार बन्द भएपछि पनि निश्चित समयभित्र खरिद–बिक्री आदेश राख्न सकिने ‘आफ्टर मार्केट अर्डर’ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेप्सेलाई निर्देशन दिइएको छ।
लगानीकर्ताबाट पटक–पटक गुनासो आउने गरेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) को प्राविधिक अवस्था मूल्यांकन गर्न सेबोनले नेप्सेलाई आइटी अडिट गर्न निर्देशन दिएको छ।
अडिट प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ। साथै कारोबार प्रणालीमा देखिएका कमजोरी पहिचान गरी प्रणालीलाई थप सुरक्षित, आधुनिक र भरपर्दो बनाउन पनि भनिएको छ।
सेबोनले कृत्रिम बौद्धिकता (एआई) वा अन्य स्वचालित प्रविधिको प्रयोग गरेर सेयर कारोबार भइरहेको छ वा छैन भन्ने पहिचान गर्ने प्रणाली विकास गर्न नेप्सेलाई निर्देशन दिएको छ।
अर्को व्यवस्था नभएसम्म एआई वा स्वचालित प्रणालीबाट आएका कारोबार आदेश पहिचान गरी रोक्नुपर्ने र यस्तो कारोबारको जोखिमबारे लगानीकर्तालाई जानकारी गराउनुपर्नेछ।
यससँगै एआई आधारित कारोबारलाई नेपालमा अनुमति दिने वा नदिने विषयमा अन्तर्राष्ट्रिय अभ्यास, कानुनी व्यवस्था, बजारको आवश्यकता तथा प्राविधिक क्षमताको अध्ययन गरी प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको छ।
हाल सिडिएस एन्ड क्लियरिङले सञ्चालन गरिरहेको ‘सिकेवाइसी’ प्रणालीलाई टिएमएस खाता खोल्ने प्रक्रियासँग जोड्ने तयारी गरिएको छ।
यो व्यवस्था लागू भएमा लगानीकर्ताले एउटै विवरण बारम्बार पेश गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् र खाता खोल्ने प्रक्रिया थप सहज बन्नेछ।
सेबोनले हालको नेप्से सूचकांकलाई ‘अल इक्विटी इन्डेक्स’ का रूपमा कायम राख्दै बजारमा कारोबारका लागि उपलब्ध ‘फ्री फ्लोट’ सेयरका आधारमा नयाँ सूचकांक विकास गर्न निर्देशन दिएको छ।
उक्त सूचकांकलाई भविष्यमा बजारको मुख्य मापन अर्थात् ‘बेन्चमार्क इन्डेक्स’ का रूपमा प्रयोग गर्ने तयारी छ। साथै सर्किट ब्रेकर प्रणाली, बजार बन्द हुने समयको मूल्य निर्धारण प्रणाली तथा दैनिक मूल्य उतारचढावसम्बन्धी नियमको पनि पुनरावलोकन गरिने भएको छ।
यससम्बन्धी सुझाव एक साताभित्र बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिइएको छ।
सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, तरलता, बजार पुँजीकरण तथा संस्थागत सुशासनका आधारमा वर्गीकरण प्रणालीलाई थप वस्तुनिष्ठ बनाउने तयारी पनि गरिएको छ।
नेप्से–३०, उच्च बजार पुँजीकरण भएका कम्पनीहरूको छुट्टै सूचकांक तथा अन्य वित्तीय सूचक विकास गर्ने विषयमा पनि अध्ययन गरिनेछ।
सेबोनले नयाँ कम्पनी सूचीकृत भएपछि पहिलो दिनको कारोबार मूल्य निर्धारण प्रणालीलाई थप वैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन निर्देशन दिएको छ।
त्यसैगरी लामो समयदेखि निष्क्रिय रहेका सूचीकृत कम्पनीहरूको अवस्थाबारे अध्ययन गरी आवश्यक कानुनी तथा प्रक्रियागत सुधारका लागि सिफारिस गर्न पनि भनिएको छ।
बोर्डले सूचीकृत कम्पनीका आधिकारिक सूचना सार्वजनिक गर्न छुट्टै डिजिटल पोर्टल विकास गर्ने तथा हरेक महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिएको छ।
सेबोनको पछिल्लो निर्देशनलाई नेपाली पुँजी बजारलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij