Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

टिमुरेमा बाढीको कहर: हेलिप्याड बग्यो, उद्धार हेलिकप्टर अवतरण नगरी काठमाडौं फर्कियो

टिमुरेमा बाढीको कहर: हेलिप्याड बग्यो, उद्धार हेलिकप्टर अवतरण नगरी काठमाडौं फर्कियो

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २, त्रयोदशी (१० भाद्र २०८३, २५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । रसुवाको उत्तरी नाका क्षेत्र टिमुरेमा पहिरो र भीषण बाढीका कारण उद्धार कार्य प्रभावित भएको छ। उद्धारका लागि पुगेको अल्टिट्युड एयरको हेलिकप्टर अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।

हेलिकप्टर चालक सुवास खड्काका अनुसार बाढीले टिमुरेको हेलिप्याड नै बगाएकाले सुरक्षित रूपमा अवतरण गर्ने ठाउँ नभेटिएपछि हेलिकप्टर फिर्ता गरिएको हो। उनले टिमुरे गाउँको अधिकांश भाग बाढी र लेदोले ढाकिएको तथा गाउँ नै स्पष्ट रूपमा नदेखिएको जानकारी दिए।

स्थानीयवासीका अनुसार त्रिशूली नदीमा पानीको बहाव एक्कासि अत्यधिक बढेको थियो। नदीमा आएको बाढीले आसपासका क्षेत्रलाई उच्च जोखिममा पारेको छ।

“जमेको खोला नै उर्लेर आएको जस्तो अवस्था छ। टिमुरे गाउँ नै देखिँदैन। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सतर्क गराउन सबै निकायबाट सूचना प्रवाह गर्नुपर्छ,” चालक खड्काले भने।

बाढी र पहिरोका कारण टिमुरे क्षेत्रको अवस्था गम्भीर बनेपछि उद्धार तथा राहत कार्यमा थप चुनौती थपिएको छ। स्थानीय प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार