दोलखाको प्राचीन सहर भीमेश्वर नगरपालिका–२, दोलखामा नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ठुलो लाखे जात्रा भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष परम्पराअनुसार मनाइने यस जात्राले यस वर्ष पनि दोलखा सहरलाई उत्सवमय बनाएको थियो। जात्रामा स्थानीयवासी, भक्तजन तथा विभिन्न स्थानबाट आएका दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
परम्परागत बाजागाजासहित लाखे नाच प्रदर्शन गर्दै लाखेले दोलखा बजारका विभिन्न टोल तथा गल्लीहरूको परिक्रमा गरेको थियो। ढोलक, भुस्या, गुजराती र सनईको तालमा लाखेले आकर्षक नृत्य प्रस्तुत गर्दा विशेषगरी तल्लो टोल क्षेत्र श्रद्धालु तथा दर्शकहरूले भरिभराउ बनेको थियो। लाखेको नृत्य हेर्न तथा दर्शन गर्न स्थानीयवासी घरका कौसी, झ्याल तथा सडक किनारमा बिहानैदेखि जम्मा भएका थिए।
नेवारी संस्कृतिमा लाखेलाई दुष्ट शक्तिमाथि विजय प्राप्त गर्ने, गाउँ–समाजलाई विपत्ति र अनिष्टबाट जोगाउने तथा सुख, शान्ति र समृद्धिको प्रतीकका रूपमा मानिन्छ। यस कारण लाखेको दर्शन तथा पूजा गरेमा रोगव्याधि, दुःख तथा नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
जात्राका क्रममा लाखेसँगै विभिन्न सांस्कृतिक झाँकी, परम्परागत वाद्यवादन तथा स्थानीय देवदेवीसँग सम्बन्धित धार्मिक गतिविधिहरू पनि सम्पन्न भएका थिए। दोलखाको सांस्कृतिक सम्पदासँग जोडिएको यो जात्राले स्थानीय नेवार समुदायको मौलिक परम्परा, कला, संस्कृति र जीवनशैलीलाई जीवन्त बनाइराखेको छ।
इतिहासविद्हरूका अनुसार दोलखाको लाखे जात्रा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्पराको निरन्तरता हो। विशेषगरी गुन्ला पर्व तथा भाद्र महिनामा मनाइने यस जात्राले धार्मिक आस्थासँगै सामाजिक एकता, सांस्कृतिक सद्भाव र सामुदायिक सम्बन्धलाई समेत सुदृढ बनाउने गरेको छ। पछिल्ला वर्षहरूमा युवापुस्ताको सक्रिय सहभागिताले जात्राको संरक्षण तथा प्रवद्र्धनमा थप ऊर्जा थपेको स्थानीय गुठियारहरू बताउँछन्।
स्थानीयवासीका अनुसार ठुलो लाखे जात्रा दोलखाको पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यसले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
यस वर्षको ठुलो लाखे जात्रा शान्तिपूर्ण, व्यवस्थित र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालीन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनले दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्नेछ।
यस वर्षको ठुलो लाखे नाचमा कोतविहार्छे निवासी युवा व्यवसायी पिर्टसन प्रधानले लाखेको मुख्य भूमिका निर्वाह गर्नुभएको थियो। लाखेको दायाँ–बायाँ समातेर नाच सञ्चालन गर्ने भूमिकामा बाल श्रेष्ठ, आशाकाजी हजाम, चन्द्रनारायण प्रधान लगायत दर्जनौँ स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। पौडी खेल्नेमा युवा संस्कृतीप्रेमी समित श्रेष्ठको टोली रहेको थियो ।
दोलखामा गुन्ला पर्वका अवसरमा सञ्चालन हुने विभिन्न जात्रा तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी कलाकारहरूलाई सम्मानस्वरूप राँगोको टाउको लगायतका परम्परागत उपहार प्रदान गर्ने चलन रहिआएको छ। यस परम्पराको आफ्नै धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व रहेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस्तो मौलिक परम्पराले दोलखाको सांस्कृतिक जीवनलाई आजसम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij