Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दोलखामा प्रदर्शन गरियो ‘ट्वाकल प्याखन’, वर्षाबीच पनि रातिसम्म गुञ्जियो परम्परागत नाच

दोलखामा प्रदर्शन गरियो ‘ट्वाकल प्याखन’, वर्षाबीच पनि रातिसम्म गुञ्जियो परम्परागत नाच

नेपाल सम्वत् ११४६, गुंल्लागाः २, द्वितिया (१४ भाद्र २०८३, ३० अगस्ट २०२६) आइतबार, बाँपिझ्याला । प्राचीन शहर भीमेश्वर नगर दोलखामा परम्परागत ‘ट्वाकल प्याखन’ १६ सय कृष्ण गोपीनी नाच प्रदर्शन गरिएको छ। पुस्तौँदेखि चल्दै आएको यो मौलिक नृत्य गाईजात्राको साँझ प्रदर्शन गर्ने परम्परा रहेको छ।

स्थानीय नेपाल (नेवार) भाषामा ‘ट्वाकल प्याखन’ भनिने यो नृत्य दोलखाको मौलिक सांस्कृतिक परम्परामध्ये एक हो। गाईजात्राको दिन साँझ परम्परागत विधिअनुसार नाच प्रदर्शन गर्दै दोलखा शहर परिक्रमा गर्ने गरिन्छ।

यस वर्ष पनि भीमेश्वर नगरपालिका–२ स्थित पिङ्गल टोलबाट राति करिब ९ः४५ बजे ट्वाकल प्याखँ सुरु गरिएको थियो। सामान्यतया राति ९ देखि १० बजेको आसपास सुरु हुने नाच यस वर्ष सोही अनुसार सुरु भएको हो। नाच सुरु हुने समयमा तथा प्रदर्शनका क्रममा मुसलधारे वर्षा भए पनि सहभागीहरू तथा स्थानीयको उत्साहमा कमी आएन। वर्षाकै बीच परम्परागत बाजागाजासहित ट्वाकल प्याखँ प्रदर्शन गर्दै शहर परिक्रमा गरिएको थियो।

चार–चार जनाको समूह, कृष्ण र गोपिनीको भेष

ट्वाकल प्याखँमा परम्परागत रूपमा चार–चार जनाको दुई समूह सहभागी हुने गर्छन्। एउटा समूहमा दुई जनाले गोपिनीको र दुई जनाले कृष्णजीको भेष धारण गर्छन्। बाहिरबाट हेर्दा महिला र पुरुष दुवै पात्र देखिए पनि गोपिनीको भेष धारण गर्ने पात्रहरू पुरुष नै हुने परम्परा रहेको छ।

कृष्ण र गोपीनीको भेषमा सजिएका सहभागीहरू परम्परागत बाजाको तालमा नाच्दै शहरका विभिन्न भागमा पुग्ने गर्छन्। नाचका क्रममा हातमा रहेका लट्ठी एक–अर्कासँग जुधाउने गरिन्छ। लट्ठी जुधाउँदा आउने ‘ट्वाक–ट्वाक’ आवाजका कारण नै यो नृत्यलाई ‘ट्वाकल प्याखन’ भनिएको किम्वदन्ती रहेको छ ।

नाचमा सहभागी समूहले निश्चित चाल र तालमा पूर्व तथा दक्षिणतर्फ फर्केर पालैपालो नृत्य गर्ने तथा लट्ठी जुधाउने गर्छन्। यसरी बाजाको ताल, नृत्यको चाल र लट्ठीको आवाजले ट्वाकल प्याखँलाई अन्य सांस्कृतिक नाचभन्दा फरक बनाउने गर्छ।

पहिलोपटक सहभागी हुनेले ‘किसली’ लैजानुपर्ने परम्परा

ट्वाकल प्याखँमा सहभागी हुनेसँग सम्बन्धित आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता पनि छ। स्थानीय परम्पराअनुसार पहिलोपटक यो नृत्यमा सहभागी हुने व्यक्तिले ‘किसली’ लिएर जाने चलन रहेको छ।

त्यस्तै, एकपटक ट्वाकल प्याखँमा सहभागी भएपछि लगातार तीन वर्षसम्म नाचमा सहभागी हुनुपर्ने मान्यता रहेको स्थानीयको भनाइ छ। यही कारण नयाँ पुस्ताका युवाहरू पनि पारिवारिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन नाचमा सहभागी हुने गर्छन्।

१६ सय गोपिनीसँग जोडिएको रासलीला

ट्वाकल प्याखनलाई धार्मिक रूपमा भगवान् श्रीकृष्ण र १६ सय गोपिनीसँग सम्बन्धित रासलीलाको एक अंशका रूपमा व्याख्या गर्ने गरिन्छ। द्वापरयुगका नायक भगवान् श्रीकृष्णले गोपिनीहरूसँग गरेको रासलीलासँग यसको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको स्थानीय किंवदन्ती छ।

धार्मिक कथनअनुसार श्रीकृष्ण बाल्यकालदेखि नै अत्यन्त चतुर, बाठो र विभिन्न विद्यामा पारंगत थिए। उनी आफ्ना गोठाला साथी तथा गोपिनीहरूलाई विभिन्न किसिमले जिस्काउने, झुक्याउने र चर्तिकला देखाउने गर्थे। श्रीकृष्णको यस्तो व्यवहारबाट गोपिनीहरू आजित भएपछि उनीहरूले आमा यशोदासमक्ष समेत गुनासो गरेको किंवदन्तीमा उल्लेख छ।

तर गुनासो गर्दा पनि श्रीकृष्णको चर्तिकला नरोकिएपछि एक दिन रुक्मिणीले गोकुलका गोपिनीहरूलाई एकत्रित पारेर श्रीकृष्णलाई सजाय दिने योजना बनाएको कथा छ।

घेरा हाल्दा जताततै कृष्ण नै कृष्ण

किंवदन्तीअनुसार रुक्मिणीको नेतृत्वमा गोपिनीहरूले श्रीकृष्णलाई मधुबनमा बोलाए। सबै गोपिनी मिलेर श्रीकृष्णलाई घेर्दै अबदेखि कसैलाई नजिस्काउन चेतावनी दिए। आवश्यक परे १६ सय गोपिनी मिलेर सजाय दिने उनीहरूले बताए।

त्यसपछि गोपिनीहरूले श्रीकृष्ण भाग्न नसकून् भनेर हातमा लट्ठी लिएर चारैतिरबाट घेरा हाले। तर श्रीकृष्णले आफ्नो मायावी शक्तिको प्रयोग गरेपछि गोपिनीहरूले जताततै श्रीकृष्ण नै श्रीकृष्ण देख्न थालेको धार्मिक किंवदन्ती छ।

गोपिनीहरूले हातमा रहेका लट्ठीले कृष्णलाई प्रहार गर्न खोज्दा प्रत्येक कृष्णले बाँसुरीका माध्यमबाट ती लट्ठी रोकिदिएको र गोपिनीहरूको प्रयास असफल भएको कथा छ। अन्ततः गोपिनीहरूले हार मानेर श्रीकृष्णकै इसारामा नाच्न थालेको किंवदन्ती छ।

यही धार्मिक कथालाई आधार मानेर ट्वाकल प्याखँ नृत्यको परम्परा सुरु भएको हुनसक्ने स्थानीय संस्कृतिका जानकारहरूको भनाइ छ।

दोलखा शहर परिक्रमा गर्दै प्रदर्शन

ट्वाकल प्याखन गाईजात्राको साँझ विशेष विधि र परम्पराअनुसार प्रदर्शन गरिन्छ। भीमेश्वर नगरपालिका–२ पिङ्गल टोलबाट सुरु हुने नाच दोलखा शहरका विभिन्न स्थानमा पुग्दै शहर परिक्रमा गर्ने परम्परा रहेको छ।

नाचका क्रममा सहभागीहरूले बाजाको तालअनुसार नाच्दै लट्ठी जुधाउने गर्छन्। कृष्ण र गोपीनीको भेषमा रहेका स्थानिय कलाकार, बाजागाजा र लट्ठीको तालबद्ध आवाजले गाईजात्राको साँझ दोलखाको पुरानो शहर भीमेश्वर नगर दोलखालाई सांस्कृतिक रूपमा जीवन्त बनाउने गर्छ।

नयाँ पुस्तासँग जोडिँदै सांस्कृतिक परम्परा

दोलखाको ट्वाकल प्याखन केवल मनोरञ्जनका लागि गरिने नृत्य मात्र नभई धार्मिक विश्वास, स्थानीय भाषा, जात्रा, नृत्य र पुस्तौँदेखिको सांस्कृतिक परम्पराको संयोजन हो। यसले दोलखाको मौलिक नेवारी संस्कृति र यहाँको जात्रा परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने कामसमेत गर्दै आएको छ।

समयक्रमसँगै जीवनशैली र मनोरञ्जनका माध्यम परिवर्तन भए पनि गाईजात्राको अवसरमा ट्वाकल प्याखन प्रदर्शन गर्ने परम्परा भने दोलखामा निरन्तर रहँदै आएको छ। वर्षा, मौसम वा अन्य कठिनाइका बीच पनि यस वर्ष प्रदर्शन गरिएको ट्वाकल प्याखँले स्थानीय समुदाय आफ्नो मौलिक संस्कृति संरक्षण र निरन्तरताका लागि कति प्रतिबद्ध छ भन्ने देखाएको छ।

दोलखा, तौथली र भक्तपुरमा फरक शैली

‘ट्वाकल प्याखन’को नाम तथा धार्मिक कथावस्तु समान भए पनि दोलखा बाहिर सिन्धुपाल्चोकको तौथली र भक्तपुरमा यसको प्रदर्शन गर्ने समय, शैली तथा विधिमा केही भिन्नता पाइन्छ।

दोलखामा भने यो नाच विशेषगरी गाईजात्राको साँझ प्रदर्शन गर्ने परम्परा रहेको छ। गोपिनी र कृष्णको भेष, लट्ठी जुधाउने शैली, बाजाको ताल तथा शहर परिक्रमा गर्ने परम्पराले दोलखाको ट्वाकल प्याखनलाई यहाँको आफ्नै मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित गरेको छ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस्तो सांस्कृतिक परम्पराको संरक्षणमा स्थानीय समुदाय, युवा पुस्ता र सांस्कृतिक अभियन्ताको भूमिका महत्वपूर्ण मानिन्छ। गाईजात्रासँगै हरेक वर्ष दोलखामा प्रदर्शन हुने ट्वाकल प्याखनले धार्मिक आस्था मात्र नभई दोलखाको इतिहास, स्थानीय भाषा, कला र सांस्कृतिक निरन्तरताको जीवन्त झलक समेत प्रस्तुत गर्दै आएको छ।

फोटो: विश्रम श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार