नेपाल सम्वत् ११४६, गुंल्लागाः २, द्वितिया (१४ भाद्र २०८३, ३० अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सबैथोक गुमाएका रसुवाका एक पीडित परिवारलाई पूर्व मिस नेपाल तथा कलाकारहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
गत १० भदौको बिहान आएको बाढीमा रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती निवासी राजकुमार डंगोलको घरसहित जीवनभरको बचत बगेको थियो। बाढीले उनकी मिर्गौला रोगी पत्नी विष्णुकुमारी डंगोलको उपचारका लागि जोहो गरेर राखिएको २५ लाख रुपैयाँ नगद र गरगहना समेत बगाएको थियो।
आफ्नो पीडा सुनाउँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको राजकुमारको भावुक भिडियो व्यापक रूपमा भाइरल बनेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो।
यसैक्रममा पूर्व मिस नेपाल आश्माकुमारी केसी, पूर्व मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा राजकुमार डंगोललाई राहतस्वरूप तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
बाढीले सम्पूर्ण धनसम्पत्ति बगाएपछि डंगोल परिवारलाई दैनिक जीविकोपार्जनसँगै विष्णुकुमारीको उपचार खर्च जुटाउने ठूलो चुनौती थपिएको छ।
सहयोग हस्तान्तरणका क्रममा आश्माकुमारी केसीले प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई एक्लो महसुस हुन नदिन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताइन्।
“प्राकृतिक विपत्तिले मानिसको जीवनमा ठूलो क्षति पुर्याउँछ। यस्तो कठिन अवस्थामा पीडित परिवारलाई साथ र सहयोगको आवश्यकता हुन्छ,” उनले भनिन्, “हामीले गरेको सहयोग ठूलो समाधान नहुन सक्छ, तर उहाँहरूको दुःखमा हामी पनि साथमा छौँ भन्ने अनुभूति दिलाउने प्रयास हो।”
उनले उपचारका लागि संकलन गरिएको रकमसमेत बाढीले बगाएको घटनाप्रति समाजका सबै क्षेत्र संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरिन्।
“उहाँहरूको पीडा सुनेपछि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो। हामी सबै मिलेर सहयोग गर्यौं भने कठिन परिस्थितिमा रहेका परिवारलाई केही राहत र सहजता दिन सक्छौँ,” उनले भनिन्।
भोटेकोशी बाढीबाट प्रभावित हजारौं परिवारमध्ये डंगोल परिवारको कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि देश–विदेशबाट सहानुभूति र सहयोगका सन्देशहरू आइरहेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij