Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

उज्यालियो भीमेश्वरको गर्भगृह : जिरीका श्रेष्ठ दम्पतीले छानामा राखिदिए पोलिकार्बोनेट सिट

उज्यालियो भीमेश्वरको गर्भगृह : जिरीका श्रेष्ठ दम्पतीले छानामा राखिदिए पोलिकार्बोनेट सिट

नेपाल सम्वत् ११४६, गुंल्लागाः ३, तृर्तिया (१५ भाद्र २०८३, ३१ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थल दोलखा भीमेश्वर मन्दिरको गर्भगृह अब प्राकृतिक उज्यालोले भरिन थालेको छ। मन्दिरमा आउने भक्तजनको सुविधा तथा मन्दिरको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै जिरीका एक दाता दम्पतीले आफ्नै खर्चमा मन्दिरको छाना मर्मत गरी नयाँ पोलिकार्बोनेट सिट जडान गरिदिएका छन्।

जिरी नगरपालिका–९ निवासी जितबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी गंगा श्रेष्ठले भीमेश्वर मन्दिरको जीर्ण छाना मर्मत गर्नुका साथै पारदर्शी पोलिकार्बोनेट सिट राखिदिनुभएको हो। केही महिनाअघि मन्दिर दर्शनका लागि आउँदा उहाँहरूको मनमा भगवान् प्रति श्रद्धास्वरूप केही योगदान गर्ने इच्छा जागेको थियो। तर, जथाभावी सामग्री चढाउनुभन्दा मन्दिरलाई वास्तवमै आवश्यक पर्ने काम गर्नुपर्छ भन्ने सोचका साथ उहाँहरूले मन्दिरका पुजारी तथा व्यवस्थापन समितिसँग परामर्श गर्नुभएको थियो।

परामर्शका क्रममा मन्दिरको छानामा रहेका पुराना पारदर्शी सिटहरू घाम, पानी र समयको प्रभावले जीर्ण भई कालो बनेको तथा विभिन्न स्थानबाट पानी चुहिने समस्या रहेको जानकारी पाएपछि श्रेष्ठ दम्पतीले छाना फेर्ने निर्णय गर्नुभएको थियो।

यसअघि वर्षायाममा पानी चुहिएर पुजारी र दर्शनार्थी भिज्नुपर्ने अवस्था थियो। मन्दिरभित्र पर्याप्त उज्यालो नपुग्ने भएकाले दिउँसै बत्ती बाल्नुपर्ने बाध्यता थियो भने विद्युत् अवरुद्ध हुँदा गर्भगृह लगभग अन्धकारमय बन्ने गरेको स्थानीय बताउँछन्।

अहिले भने नयाँ पोलिकार्बोनेट सिट जडान गरिएपछि मन्दिरभित्र प्राकृतिक प्रकाश सहज रूपमा प्रवेश गर्न थालेको छ। गर्भगृहबाटै आकाश देखिने गरी उज्यालो फैलिएको छ, जसले दर्शनार्थीलाई थप सहज र आध्यात्मिक अनुभूति दिलाएको छ।

दाता जितबहादुर श्रेष्ठले आफूले कुनै व्यक्तिगत स्वार्थ नराखी भक्तजनको सहजता र धर्मप्रतिको आस्थाका कारण यो सहयोग गरेको बताउनुभयो।

“भगवान् प्रति मेरो विश्वास छ। अन्य मन्दिरमा पनि समय–समयमा सहयोग गर्ने गरेको छु,” उहाँले भन्नुभयो, “तर यहाँ आउने भक्तजनले उज्यालो वातावरणमा सहज रूपमा दर्शन र पूजा गर्न पाउँदा मलाई धेरै सन्तोष मिल्छ। यही नै मेरो लागि सबैभन्दा ठूलो धर्म हो।”

मन्दिरका पुजारी काशिनारायण श्रेष्ठका अनुसार नयाँ सिट जडान भएपछि दैनिक नित्यपूजा सञ्चालन गर्न निकै सहज भएको छ। “पहिले पानी चुहिने र अँध्यारो हुने समस्या थियो। अहिले प्राकृतिक उज्यालो पर्याप्त भएकाले बत्ती नभएको अवस्थामा पनि पूजा–आराधना गर्न सहज भएको छ,” उहाँले बताउनुभयो।

श्रेष्ठ दम्पतीको यस योगदानले केवल मन्दिरको भौतिक सुधार मात्र गरेको छैन, धार्मिक सम्पदाको संरक्षणमा नागरिक सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ। आफ्नो कमाइको केही अंश धार्मिक तथा सामाजिक कार्यमा खर्च गरेर उहाँहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुभएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार