Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

पृथ्वी राजमार्ग बन्दपछि बीपी राजमार्गमा बढ्ने सवारी चाप, व्यवस्थापनमा चुनौती

पृथ्वी राजमार्ग बन्दपछि बीपी राजमार्गमा बढ्ने सवारी चाप, व्यवस्थापनमा चुनौती

नेपाल सम्वत् ११४६, गुंल्लागाः ४, चौठी (१६ भाद्र २०८३, १ सेप्टेम्वर २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडक सञ्जालमध्ये एक पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको बीपी राजमार्गमा सवारी चाप उल्लेखनीय रूपमा बढ्ने देखिएको छ। आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरसहित विभिन्न स्थानमा सडक कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

सडक डिभिजन भक्तपुरका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै पूर्वी पहाडी तथा तराई जिल्लाबाट राजधानी आउने यात्रुवाहक बस, मालवाहक ट्रक तथा अत्यावश्यक सामग्री बोकेका सवारी साधनहरू अब मुख्य रूपमा बीपी राजमार्ग प्रयोग गर्न बाध्य हुनेछन्। यसले उक्त राजमार्गमा अतिरिक्त दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।

सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्गमात्र नभई कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारीको चाप बढ्ने बताउनुभयो। उहाँका अनुसार पूर्व र पश्चिमबाट राजधानी प्रवेश गर्ने अधिकांश सवारी वैकल्पिक मार्गमा मोडिनुपर्ने भएकाले अहिलेको सडक संरचनाले सबै सवारी धान्न कठिन हुनेछ।

विशेषगरी बीपी राजमार्गका केही संवेदनशील खण्डहरूमा समस्या देखिन सक्ने सडक विभागको अनुमान छ। काभ्रेपलाञ्चोकतर्फ धुलिखेल–भकुण्डेबेँसी खण्ड तथा सिन्धुलीतर्फ खुर्कोट–चियाबारी सडकखण्डमा रहेका साँघुरा र तीव्र घुम्तीहरू ठूला बस तथा मालवाहक ट्रकका लागि चुनौतीपूर्ण बन्न सक्ने जनाइएको छ।

हाल बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण कार्य पनि जारी रहेकाले थप समस्या देखिएको छ। सडक विस्तार तथा मर्मतका लागि प्रयोग हुने भारी उपकरणहरू लैजाँदा समेत घण्टौँसम्म जाम हुने गरेको अनुभव रहेको सडक विभागले जनाएको छ। यही कारण दिउँसोको समयमा ठूला सवारी साधन सञ्चालन गर्न कठिन हुने बताइएको छ।

डिभिजन प्रमुख योगेशका अनुसार अहिलेको अवस्थामा साना तथा मध्यम सवारी साधनको चाप व्यवस्थापन गर्न सकिए पनि ठूला रात्रि बस, मालवाहक ट्रक तथा ग्यास बुलेटहरू एकैपटक सञ्चालन गर्दा सडकको क्षमता प्रभावित हुन सक्छ। त्यसैले आवश्यक परे रातिको समयमा अन्य सवारी केही समय रोक्दै ठूला सवारी सञ्चालन गर्ने विकल्पबारे पनि सोचिएको छ।

यसबाहेक ग्यास बुलेट सञ्चालनको विषयमा विशेष चिन्ता देखिएको छ। कान्ति लोकपथ र त्रिभुवन राजपथ हुँदै ग्यास बुलेट सञ्चालन गर्न भौगोलिक तथा सडक संरचनागत कठिनाइ रहेको छ भने बीपी राजमार्गमा पनि साँघुरा घुम्तीका कारण दुईतर्फी आवागमन प्रभावित हुन सक्छ। यस विषयमा चालक तथा प्राविधिक टोलीलाई स्थलगत अनुगमन गराएर मात्रै निर्णय लिने तयारी भइरहेको सडक विभागले जनाएको छ।

उहाँका अनुसार यदि ग्यास बुलेट सञ्चालन गर्नैपर्ने अवस्था आयो भने पुनर्निर्माण कार्य केही समय रोक्दै रातिको समयमा पुरानो ट्र्याक प्रयोग गरेर सञ्चालन गराउन सकिने विकल्प पनि खुला राखिएको छ। स्थलगत अध्ययनपछि मात्र बीपी राजमार्गमा ग्यास बुलेट नियमित रूपमा सञ्चालन गर्न सकिने वा नसकिने विषयमा अन्तिम निर्णय हुने बताइएको छ।

सडक विभागका अनुसार बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आउन कम्तीमा एक महिनाभन्दा बढी समय लाग्न सक्छ। त्यस अवधिसम्म बीपी राजमार्ग नै राजधानीलाई पूर्वी नेपाल र तराईसँग जोड्ने सबैभन्दा महत्वपूर्ण वैकल्पिक मार्ग बन्ने देखिएको छ।

बीपी राजमार्गको इतिहास पनि प्राकृतिक विपत्तिसँग जोडिएको छ। विसं २०५० को भीषण वर्षाले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा व्यापक क्षति पुर्‍याएपछि वैकल्पिक मार्गको आवश्यकता महसुस गरिएको थियो। त्यसपछि जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजना निर्माण सुरु गरिएको थियो। लामो समयको निर्माणपछि जापान सरकारले विसं २०७२ मा उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

हालको परिस्थितिमा पृथ्वी राजमार्ग बन्द रहँदा बीपी राजमार्गले राजधानीको आपूर्ति, यात्रुवाहक सेवा र अत्यावश्यक वस्तु ढुवानीको मुख्य भार बोक्नुपर्ने भएकाले सडक व्यवस्थापन, ट्राफिक नियन्त्रण र सुरक्षा उपायलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार