Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भोटेकोशी र त्रिशूलीमा बिहीबार आकस्मिक बाढीको उच्च जोखिम

भोटेकोशी र त्रिशूलीमा बिहीबार आकस्मिक बाढीको उच्च जोखिम

नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम उच्च रहेको भन्दै नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको छ भने अझै वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी तथा त्रिशूली नदी र आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

बाढीविद् विष्टले ती नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पा आसपासका स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

त्यस्तै, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका स–साना नदी तथा खोलामा समेत बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र र खोलानालामा काम गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार