नेपाल सम्वत् ११४६, गुंल्लागाः ०९, नवमी (२० भाद्र २०८३, ०५, सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा घरसहित बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले मृत्यु भइसकेको ठानेर कुशको शव बनाई काजकिरिया सुरु गरिसकेको थियो। तर, बाढी आएको ११औँ दिनमा उद्धारकर्ताले उनलाई जीवितै फेला पारेपछि परिवारमा खुसीको सीमा रहेन।
नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो। उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ।
बाढीले चण्डिका र उनका श्रीमान् घरभित्रै रहेका बेला साढे चार तल्लाको घर नै उचालेर बगाएको थियो। परिवारका अनुसार बाढीले बगाएको घर त्रिशूली नदीको किनारमा पुगेर अड्किएको थियो। चण्डिकाको आठ दिनसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले उनको मृत्यु भएको निष्कर्ष निकाल्दै काजकिरिया सुरु गरेको थियो।
चण्डिकाका ज्वाइँलगायत आफन्तले बेत्रावती र त्रिशूली नदीको किनारमा निरन्तर खोजी गरेका थिए। तर, दलदल र दुर्गन्धका कारण खोजी कठिन बनेपछि उनीहरू निराश भएर फर्किएका थिए। त्यसपछि काठमाडौंको सानो भर्याङस्थित घरमा कुशको शव बनाएर मृत्यु संस्कार सुरु गरिएको थियो।
यद्यपि, परिवारका सदस्य रमेशमान श्रेष्ठको मनले भने चण्डिका जीवितै हुन सक्ने आशा छाडेको थिएन। घरको माथिल्लो तल्लामा कुनै तरिकाले अड्किएर बसेकी हुन सक्ने आशाले उनले पुनः खोजी गर्नुपर्ने बताउँदै आएका थिए।
अन्ततः ११औँ दिनमा चण्डिका जीवितै फेला परेको खबर आएपछि परिवारमा अविश्वसनीय खुसी छायो। छोरी र फेसबुकमार्फत खबर पाएपछि आफन्त अस्पताल पुगेका छन्। चिकित्सकले केही समय भेट्न नदिएपछि परिवारका सदस्य बाहिरैबाट उनको अवस्था बुझ्दै पर्खिरहेका छन्।
चण्डिकाका नातिले अस्पतालमा पुगेर ‘मेरी आमा चाहियो’ भन्दै रोइरहेको परिवारले जनाएको छ। अघिल्लो दिनमात्रै उनले दिनभर भगवानको भजन गाएको आफन्तले सम्झिएका छन्।
यो घटनाले बाढीपहिरोजस्ता विपद्का बेला बेपत्ता व्यक्तिको खोजीमा आशा नछोड्नुपर्ने सन्देशसमेत दिएको छ। मृत्यु संस्कार सुरु भइसकेको अवस्थामा ११ दिनपछि जीवित भेटिएकी चण्डिकाको कथा अहिले परिवारका लागि मात्र होइन, धेरैका लागि आश्चर्य र भावुकताको विषय बनेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij