नेपाल सम्वत् ११४६, गुंल्लागाः ११, एकादशी (२२ भाद्र २०८३, ०७, सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । आज राष्ट्र शोकमा छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले गुमाएका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै आफ्ना प्रियजन फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षाले देशलाई शोकमग्न बनाएको छ।
भोटेकोशी बाढीले छोडेको पीडा तत्काल मेटिने अवस्था छैन। हजारौँ परिवार अझै आफन्तको खोजीमा छन्। सयौँ परिवार घरबारविहीन भएका छन् भने सडक, पुल, विद्युत्, बस्ती तथा अन्य भौतिक संरचनामा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा सामान्य जनजीवन फर्काउन लामो समय लाग्ने देखिएको छ।
विनाशकारी बाढी आएको १३औँ दिनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउँदैछ। मृतकप्रति सम्मान तथा शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ।
आजको दिन मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन मात्र होइन, अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई तीव्र बनाउने, विस्थापित परिवारलाई सुरक्षित पुनर्स्थापना गर्ने र विपत्तिले भत्काएको जीवन तथा संरचनाको पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिनसमेत बनेको छ।
बाढीको घाउ यति गहिरो छ कि कैयौँ परिवार अझै आफन्तको शव पर्खिरहेका छन्। कतिपय परिवार बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षामा छन्। घरबास गुमाएका परिवार भने अस्थायी आश्रयमा दिन बिताउन बाध्य छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ। तर करिब चार हजार १९६ जना अझै सम्पर्कविहीन रहेको विवरण छ। बाढीमा एक हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ भने सनाखत भई परिवारले बुझेका शवको सङ्ख्या ९८ रहेको छ।
सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी, कर्मचारी तथा विदेशी नागरिकसमेत छन्। रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब एक हजार ८५७ नेपाली नागरिक तथा नुवाकोटबाट प्राप्त विवरणअनुसार करिब दुई हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन छन्। त्यस्तै, करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५९९ विदेशी नागरिक समेत सम्पर्कविहीन रहेको विवरण छ।
विपत्तिको पहिलो घडीदेखि नै राज्यका सुरक्षा संयन्त्र खोज तथा उद्धारमा परिचालित छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति कठिन भूगोल, अवरुद्ध सडक तथा जोखिमपूर्ण नदीको प्रवाहबीच निरन्तर उद्धारमा खटिएका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन्। नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।
बाढीमा आफ्नै सहकर्मी गुमाएका सुरक्षाकर्मीसमेत व्यक्तिगत पीडा थाँती राखेर उद्धारमा खटिएका छन्। भोटेकोशी बाढीमा ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन्। आफ्नै सहकर्मीको अवस्था अज्ञात हुँदाहुँदै पनि सुरक्षाकर्मी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र पीडितको उद्धारमा निरन्तर सक्रिय छन्।
नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम तथा मुख्य फरवार्ड एयर बेस स्थापना गरी उद्धार सञ्चालन गरेको छ। रसुवाको धुन्चेमा पनि ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा छन्।
बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत तीव्र पारिएको छ। हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने विभिन्न अस्पतालमा ३२३ जना उपचाररत छन्।
नेपाली सेनाले तीन हजार २८८ तथा सशस्त्र प्रहरीले दुई हजार ४६२ जनालाई उपचार सेवा प्रदान गरेका छन्।
उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन्। उनीहरूका लागि खाद्यान्न, जेनेरेटर, हाइजेनिक किट, विद्यार्थी किटलगायत राहत सामग्री उपलब्ध गराइएको छ। विपत्तिका कारण प्रभावित नागरिकमा परेको मानसिक आघात कम गर्न मनोसामाजिक परामर्शसमेत सञ्चालन भइरहेको छ।
उद्धार र राहतको तत्कालीन चरणसँगै अब राज्यसामु पुनर्स्थापना र पुनर्निर्माणको कठिन जिम्मेवारी थपिएको छ। बाढीले सडक, पुल, बस्ती, विद्युत् तथा जलविद्युत् संरचनामा ठूलो क्षति पुर्याएको छ।
विद्युत् आपूर्ति भने क्रमशः पुनर्स्थापित हुँदै गएको छ। रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ।
तर क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, विस्थापित परिवारको सुरक्षित पुनर्वास, जीविकोपार्जनको पुनर्स्थापना र ध्वस्त संरचनाको निर्माण तत्कालका चुनौती बनेका छन्।
प्राधिकरणका प्रवक्ता महतका अनुसार उद्धारसँगै अब सुरक्षित आवास, जीविकोपार्जनसहितको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा राज्यको ध्यान केन्द्रित हुनेछ।
राष्ट्रिय शोकको यो दिन भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको खोजीमा राज्य अझ गम्भीर बन्नुपर्ने र पीडित परिवारको पुनर्स्थापनालाई उच्च प्राथमिकता दिनुपर्ने सन्देशसमेत दिएको छ। विपत्तिले दिएको पीडा बिर्सन नसकिने भए पनि पीडितको जीवनमा आशा फर्काउने जिम्मेवारी अब राज्य र समाज दुवैको काँधमा आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij