काठमाडौं महानगरपालिका वडा नं. २७ ले महिलामा बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अन्य स्त्रीरोगको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। आगामी असोज १७ गते शनिबार आयोजना हुने शिविरमा महिलाहरूले निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।
शिविर सञ्चालनका लागि वडा कार्यालयले निजामती कर्मचारी अस्पतालसँग औपचारिक सम्झौता गरिसकेको छ। महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वडा नं. २७ ले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने दीर्घकालीन अभियानसमेत अघि सारेको छ। यस अभियानलाई भविष्यमा काठमाडौं महानगरपालिकाका अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको जनाइएको छ।
सम्झौतापछि बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो समय महिलामा क्यान्सरका घटनाहरू बढ्दै गएको सन्दर्भमा रोगको लक्षण देखिनुअघि नै सम्भावित जोखिम पहिचान गर्न खोजिएको बताउनुभयो। उहाँले समयमै परीक्षण र सचेतनाले क्यान्सरजस्ता जटिल रोगको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
उहाँका अनुसार महानगरपालिकाले विभिन्न स्वास्थ्य अभियान तथा कार्यक्रममार्फत नागरिकलाई रोग लाग्नुअघि नै सावधानी अपनाउन प्रेरित गर्दै आएको छ। विशेषगरी सहरी क्षेत्रमा नियमित स्वास्थ्य परीक्षण गराउने संस्कार अझै विकास हुन नसकेकाले स्थानीय महिलालाई सहज रूपमा सेवा उपलब्ध गराउन टोलस्तरमै शिविर सञ्चालन गर्न लागिएको हो।
वडा अध्यक्ष योगेश खड्गीले घरदैलोमै उपलब्ध हुने यस स्वास्थ्य सेवाबाट धेरै महिलाले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै समयमै रोग पहिचान हुन सके उपचार प्रभावकारी र कम खर्चिलो हुने बताउनुभयो। उहाँले महिलाहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रहसमेत गर्नुभयो।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले शिविरका क्रममा जटिल स्वास्थ्य समस्या देखिएमा अस्पतालले थप उपचार तथा परामर्शमा सहजीकरण गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक परीक्षणमा थप जाँच आवश्यक देखिएमा चिकित्सकको सिफारिसअनुसार वडा कार्यालयको सिफारिसमा निजामती कर्मचारी अस्पतालमा अल्ट्रासाउण्ड, मेमोग्राम तथा क्यान्सर पूर्वावस्थाका परिवर्तन पहिचान गर्ने अन्य परीक्षणहरू समेत गराउन सकिने व्यवस्था मिलाइनेछ।
यसअघि पनि काठमाडौं महानगरपालिकाले क्यान्सर रोगको प्रारम्भिक पहिचान र जनचेतना अभिवृद्धिका लागि एक महिने निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको थियो। महानगरको यो नयाँ पहलले महिलामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै क्यान्सरजस्ता जटिल रोगको समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij