नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित गौरीशङ्कर बोर्डिङ इङ्लिस स्कुलले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा रकम संकलन गरी राहत कोषमा जम्मा गरेको हो । विद्यालयका संस्थापक तथा शिक्षासेवी सूर्यकृष्ण श्रेष्ठका अनुसार विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएका थिए भने शिक्षक तथा कर्मचारीले समेत आफ्नो पारिश्रमिकबाट केही रकम सहयोग गरेका थिए ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा संस्थापकले डोनेसन बक्समा रकम जम्मा गरेका थिए । संकलित ४० हजार रुपैयाँ विद्यालय प्रशासनले प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा जम्मा गरिसकेको जनाएको छ ।
गौरीशङ्कर बोर्डिङ इङ्लिस स्कुल दोलखामा निजी क्षेत्रबाट सञ्चालित पुरानो शैक्षिक संस्थामध्ये एक हो । वि.सं. २०४९ सालमा स्थापना भएको विद्यालयले विगत ३४ वर्षदेखि अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयका संस्थापक सूर्यकृष्ण श्रेष्ठ स्थापना कालदेखि नै शिक्षा तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ । शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रपतिबाट ‘शिक्षासेवी’ उपाधिबाट समेत सम्मान गरिएको छ ।
विद्यालयले आर्थिक रूपमा विपन्न तथा कमजोर परिवारका बालबालिकालाई सहुलियत शुल्कमा अध्ययन गराउँदै आएको जनाएको छ । एउटै परिवारका दुई जना सन्तान विद्यालयमा अध्ययन गर्दा एक जनालाई निःशुल्क पढाउने व्यवस्था समेत गरिएको छ ।
शैक्षिक गतिविधिसँगै विपद्का बेला सामाजिक सेवामा समेत विद्यालयले देखाएको सक्रियतालाई दोलखामा प्रशंसनीय कार्यका रूपमा लिइएको छ । संकटको समयमा विद्यार्थीलाई सानै उमेरदेखि सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने विद्यालयको पहलले सकारात्मक सन्देश दिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij