Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

अमर सिर्जनाका धनी देवकोटाको ६७औँ स्मृति दिवस आज

अमर सिर्जनाका धनी देवकोटाको ६७औँ स्मृति दिवस आज

नेपाल सम्वत् ११४६, यंलाथ्वः ३, तृर्तिया (२९ भाद्र २०८३, १४ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली साहित्यका विराट प्रतिभा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस आयोजना गर्न लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो।

स्मृति दिवसका अवसरमा आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा : मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना हुँदैछ। कार्यक्रममा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र तथा महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने प्रमुख स्रष्टाका रूपमा स्थापित देवकोटाको योगदान नेपाली साहित्यमा अतुलनीय मानिन्छ। उनका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना तथा फुटकर कवितालगायत सयभन्दा बढी कृति प्रकाशित छन्।

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते, लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उहाँको निधन २०१६ साल भदौ २९ गते भएको थियो।

देवकोटाले १० वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो। नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तकमध्ये एक मानिने उहाँका रचनामा मानवतावाद, प्रकृतिप्रेम, विद्रोही चेतना र क्रान्तिकारिता पाइन्छ। पूर्वीय तथा पाश्चात्य दर्शनको संयोजन पनि उहाँका सिर्जनाको विशेषता मानिन्छ।

देवकोटाको ‘मुनामदन’ नेपाली साहित्यको सर्वाधिक लोकप्रिय कृतिमध्ये एक हो। नेपाली भाषामा प्रकाशित सर्वाधिक बिक्री हुने पुस्तकका रूपमा समेत ‘मुनामदन’लाई लिइन्छ।

उहाँको सिर्जनात्मक क्षमता असाधारण थियो। तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य तथा एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको प्रसङ्गले उहाँको अद्भुत सिर्जनशीलताको परिचय दिन्छ।

देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। विदेशी भाषामा नेपाली साहित्यका कृतिको अनुवाद तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले नेपाली साहित्यको प्रचारप्रसारमा योगदान दिनुभएको थियो।

अङ्ग्रेजी साहित्यका विभिन्न लेखकका निबन्ध चयन गरी उहाँले १९९७ सालमा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभएको थियो। उहाँले आफ्नै चर्चित कविता ‘पागल’ लाई समेत अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो।

पाश्चात्य ग्रीसेली स्रोतबाट प्रेरित भएर नेपालीकरण गरिएका उहाँका कृतिमा ‘मायाविनी’, ‘सुन्दरी प्रोजर्पिना’ तथा ‘प्रमिथस’ लगायतका रचना उल्लेखनीय छन्।

राजनीतिक तथा सार्वजनिक जीवनमा समेत सक्रिय देवकोटा २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री बन्नुभएको थियो। उहाँ मन्त्री रहेका बेला नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउने कार्य भएको थियो।

नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत देवकोटाको सक्रिय योगदान रहेको मानिन्छ। चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरीय साहित्य सिर्जना गर्नु उहाँको साहित्यिक जीवनको विशिष्ट पक्ष हो।

भारतीय विद्वान् राहुल साङ्कृत्यायनले देवकोटाको प्रतिभालाई भारतका चर्चित कविहरू सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त प्रतिभासँग तुलना गरेको प्रसङ्ग नेपाली साहित्यमा चर्चित छ। नाट्यसम्राट बालकृष्ण समले पनि देवकोटाको सिर्जनात्मक प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उहाँका महत्वपूर्ण कृतिहरूलाई स्मरण गर्नुभएको पाइन्छ।

महाकवि देवकोटाले नेपाली साहित्यलाई दिएका कृति, विचार र सिर्जनात्मक योगदान आज पनि उत्तिकै सान्दर्भिक छन्। उहाँको ६७औँ स्मृति दिवसले देवकोटाको साहित्यिक योगदानको पुनःस्मरणसँगै नयाँ पुस्तालाई उहाँका कृति र विचारसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार