Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

एसिया कप जितसँगै सन्दीपको कप्तानीको चर्चा, अब लिग–२ मा निर्णायक परीक्षा

एसिया कप जितसँगै सन्दीपको कप्तानीको चर्चा, अब लिग–२ मा निर्णायक परीक्षा

नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरेको कप्तान परिवर्तनको निर्णय प्रभावकारी देखिन थालेको छ। क्यानले गत साउनमा रोहितकुमार पौडेललाई हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको थियो।

कप्तानी सम्हालेपछि सन्दीपले टोलीलाई एसिसी एसिया कपमा छनोट गराउने मुख्य लक्ष्यसहित मैदानमा नेतृत्व गरेका थिए। नयाँ र अनुभवी खेलाडीको मिश्रण रहेको नेपाली टोलीलाई उनले प्रिमियर कपमा प्रभावकारी रूपमा अघि बढाए।

एसिसी प्रिमियर कप २०२६ मा नेपालले खेलेका छ खेलमध्ये पाँचमा जित र एकमा हार बेहोर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसपछि फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गर्‍यो।

नेपालको यो सफलतामा कप्तान सन्दीप लामिछानेको प्रदर्शन पनि महत्वपूर्ण रह्यो। उनले प्रतियोगिताका छ खेलमा २.९८ को इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिए। उत्कृष्ट प्रदर्शनसँगै उनी लगातार दोस्रो पटक ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। यसअघि सन् २०२३ को संस्करणमा पनि उनले उक्त अवार्ड जितेका थिए।

राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा क्यानका पूर्वछनोट संयोजक दीपेन्द्र चौधरीले सन्दीपले व्यक्तिगत प्रदर्शनसँगै कप्तानी भूमिकासमेत प्रभावकारी रूपमा निर्वाह गरेको बताएका छन्। उनका अनुसार सन्दीपले बलरहरूको उचित प्रयोग गर्नुका साथै नयाँ खेलाडीलाई टोलीमा राम्रोसँग समेट्न सफल भएका छन्।

चौधरीले बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमालको प्रदर्शन पनि नेपालको सफलतामा महत्वपूर्ण रहेको बताएका छन्।

एसिया कपमा स्थान सुरक्षित गरेपछि नेपाली टोलीसामु अब आईसीसी विश्वकप लिग–२ को अन्तिम शृङ्खला चुनौतीका रूपमा आएको छ। नेपाल हाल ३२ खेलबाट ११ जित र १९ हारसहित तालिकाको सातौँ स्थानमा छ। दुई खेलमा भने अङ्क बाँडिएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले तालिकाको शीर्ष छभित्र पर्नुपर्नेछ। त्यसका लागि आगामी अक्टोबरमा ओमान र क्यानडाविरुद्ध हुने अन्तिम शृङ्खला निर्णायक बन्नेछ। उक्त शृङ्खलामा नेपालले कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ।

एसिसी प्रिमियर कपमा हासिल गरेको सफलता र उच्च मनोबललाई लिग–२ को अन्तिम शृङ्खलामा उपयोग गर्ने चुनौती अब कप्तान सन्दीपसहित नेपाली टोलीसामु छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार