वि.सं. २०५६ साल वैशाखदेखि ‘बाँपिझ्याला’ खबरकागजका रूपमा सुरु भएको हाम्रो यात्रा समयक्रमसँगै ‘नेपाल म्यागाजिन’ हुँदै ‘बाँपिझ्याला मासिक’ पत्रिकाका रूपमा यहाँहरूमाझ पुगेको थियो। पाठकहरूको माया, ममता, स्नेह र निरन्तर साथकै कारण त्यो यात्रा आज प्रविधिको युगसँग हातेमालो गर्दै अनलाइन पत्रकारितासम्म आइपुगेको छ।
बामे सर्दै, हाँस्दै–खेल्दै, कहिले लुक्दै–लुकाउँदै र अनेकौँ कठिन संघर्षका चरण पार गर्दै ‘बाँपिझ्याला डटकम’ले अनलाइन यात्राको छैटौँ वर्ष पूरा गरी आजदेखि सातौँ वर्षमा प्रवेश गरेको छ। यो हाम्रो मात्र यात्रा होइन, समग्र दोलखावासीको माया, विश्वास, सद्भाव र सहभागिताले निर्माण गरेको साझा यात्रा हो।
छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्ने यस महत्वपूर्ण अवसरमा विश्वका विभिन्न मुलुक तथा नेपालका विभिन्न भूभागमा छरिएर रहनुभएका आदरणीय दोलखावासी दाजुभाइ, दिदीबहिनी, अग्रज व्यक्तित्व, शुभचिन्तक तथा समस्त नेपाली महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूले दिनुभएको सल्लाह, सुझाव, सद्भाव, सहयोग र निरन्तर हौसलाले नै हामीलाई अघि बढ्ने ऊर्जा प्रदान गरेको छ।
हामीले बाँपिझ्याला डटकममार्फत प्राचीन शहर भीमेश्वर नगर, दोलखा र समग्र दोलखा जिल्लाको माटो, समाज र वस्तुगत यथार्थलाई समेट्ने प्रयास गर्दै आएका छौँ। दोलखाको इतिहास, भाषा, संस्कृति, परम्परा, जात्रा, पर्व, कला, साहित्य, सामाजिक जीवन, भौगोलिक विविधता तथा विकासका गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ।
आगामी यात्रामा पनि यहाँहरूको माया र सद्भावलाई आत्मसात् गर्दै अनलाइन समाचारलाई अझ व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ। समयको मागअनुसार समाचार सामग्रीलाई श्रव्य–दृश्य माध्यमबाट समेत प्रस्तुत गर्दै नयाँ प्रविधिसँग जोडिएर अघि बढ्ने हाम्रो योजना रहेको छ।
दोलखाको माटोमा जन्मेर, यही माटोमा हुर्केर आफ्नो पहिचान निर्माण गरेका हामी दोलखावासीका लागि प्राचीन शहर भीमेश्वर, दोलखा केवल एउटा भौगोलिक स्थान मात्र होइन, हाम्रो इतिहास, संस्कृति, भाषा र सभ्यताको आधारभूमि हो। यही भावनाबाट प्रेरित भएर दोलखाको मौलिकता र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने अभियानमा हामी निरन्तर लागिरहेका छौँ।
दोलखा जिल्लाभरि रहेर पनि विभिन्न कारणले व्यापक रूपमा परिचित हुन नसकेका प्रतिभा, व्यक्तित्व, संस्था तथा सामाजिक अभियन्ताहरूलाई बाँपिझ्याला डटकममार्फत सार्वजनिक परिचय दिलाउने प्रयास गरेका छौँ। उहाँहरूको कार्यशैली, योगदान, अनुभव र सामाजिक भूमिकालाई पाठकमाझ पु¥याउने उद्देश्यले विभिन्न संवाद तथा परिचयात्मक सामग्री प्रकाशन गर्दै आएका छौँ।
दोलखाको नेपाल (नेवार) भाषा, नेपाली भाषा र अंग्रेजी भाषामार्फत सामग्री सम्प्रेषण गर्ने प्रयास पनि यही उद्देश्यको महत्वपूर्ण हिस्सा हो। भाषिक विविधताको सम्मान गर्दै दोलखाको पहिचानलाई व्यापक समुदायसम्म पु¥याउनु हाम्रो प्राथमिकतामध्ये एक हो।
बाँपिझ्याला डटकम अनलाइन न्युज पोर्टल सञ्चालनसँगै हामीले सामाजिक सञ्जालमार्फत ‘बाँपिझ्याला डटकम’ र दोलखाको स्थानीय पहिचान तथा आवाजलाई केन्द्रमा राख्दै ‘दोलखाबाट बाँपिझ्याला डटकम–द्वाल्खा’ समेत सञ्चालनमा ल्याएका छौँ। यसमार्फत दोलखाका समाचार, सूचना, भाषा, संस्कृति, इतिहास, कला, साहित्य तथा स्थानीय गतिविधिलाई थप प्रभावकारी रूपमा पाठक तथा दर्शकमाझ पु¥याउने प्रयास गरिरहेका छौँ।
आगामी दिनमा यहाँहरूको थप माया, साथ, सहयोग र सद्भाव प्राप्त भइरहेमा यी डिजिटल माध्यमलाई अझ परिस्कृत, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै स्थानविशेषका समाचार र सामग्रीलाई स्थानीय तहसम्मै केन्द्रित गरी बाँपिझ्याला डटकमको पहुँच र प्रभाव विस्तार गर्ने हाम्रो लक्ष्य रहेको छ।
दोलखाका गाउँ–बस्ती, टोल–समुदाय र स्थानीय जनजीवनका आवाजलाई अझ नजिकबाट समेट्दै सूचना र समाचारको माध्यमबाट सबैलाई जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ। यस यात्रामा पाठक, शुभचिन्तक, स्थानीय समुदाय तथा सम्पूर्ण दोलखावासीको सक्रिय सहभागिता र रचनात्मक सहयोगलाई हामी सदैव महत्वपूर्ण आधारका रूपमा लिनेछौँ।
बाँपिझ्याला डटकमको महत्वपूर्ण उद्देश्य दोलखा शहरमा बोलिने नेपाल (नेवार) भाषाको संरक्षण, पुस्तान्तरण र दैनिक बोलचालमा यसको निरन्तरताका लागि योगदान गर्नु हो। त्यसैगरी जिल्लामा सञ्चालनमा नआएका, लोपोन्मुख अवस्थामा रहेका वा इतिहासमै विलय भएका जात्रा, पर्व, संस्कार, परम्परा र रीतिरिवाजका विषयलाई उजागर गर्दै तिनको संरक्षण तथा पुनःस्थापनाका लागि चेतना जगाउनु पनि हाम्रो अभियान हो।
हामी विश्वास गर्छौँ—आफ्नो भाषा, संस्कृति, इतिहास र परम्पराप्रति गर्व गर्न सक्ने समाजले नै आफ्नो पहिचानलाई दीर्घकालसम्म जोगाउन सक्छ। त्यसैले दोलखाको मौलिक सम्पदालाई स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म चिनाउन सञ्चार माध्यमका रूपमा आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गरिरहेका छौँ।
कतिपय संस्कार, परम्परा, जात्रा तथा इतिहासका महत्वपूर्ण पक्ष अझै पनि व्यक्तिको स्मृति, घर–परिवार वा समुदायभित्र सीमित छन्। त्यस्ता विषय हामीसम्म पु¥याइदिनुहुन सबैमा आग्रह गर्दछौँ। तपाईंहरूको जानकारी, अनुभव, अभिलेख र सुझावले दोलखाको इतिहासलाई थप समृद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ।
बाँपिझ्याला डटकमले दोलखालाई केवल दोलखा भीमसेन–भीमेश्वरको आँगन वा कालिञ्चोक भगवतीको कुण्डका रूपमा मात्र हेरेको छैन। हाम्रो दृष्टिमा ‘सिङ्गो दोलखा’ भन्नाले जिल्लाका सबै भूगोल, समुदाय, गाउँ–बस्ती, भाषा, संस्कृति, इतिहास, धार्मिक तथा पर्यटकीय सम्पदा र जनजीवनलाई समेट्छ।
जिरी, शैलुङ, बेदिङ, बिगु, कालिञ्चोक, गौरिशङ्करलगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रदेखि जिल्लाका दूरदराजका गाउँ–बस्ती, पानी पँधेरा, खेतबारी र स्थानीय जनजीवनसम्मका विषयलाई समाचार र सामग्रीका माध्यमबाट उजागर गर्ने हाम्रो प्रयास जारी छ।
दोलखाभित्र रहेका नेवार, थामी, तामाङ, सुरेल, जिरेल, शेर्पालगायत विभिन्न जातजाति तथा भाषाभाषी समुदायको पहिचान र योगदानलाई पनि समान रूपमा समेट्ने हाम्रो प्रयत्न छ। जिल्लाका हरेक समुदाय, भूगोल र पुस्ताका आवाजलाई स्थान दिनु नै हाम्रो पत्रकारिताको मूल भावना हो।
बाँपिझ्याला डटकम तपाईं–हामी सबैको साझा पत्रिका हो। विभिन्न सामग्री र स्वाद मिलाएर तयार गरिएको स्वादिष्ट परिकार सबैका सामु पस्किने कामजस्तै, तपाईंहरूले आफ्ना गाउँ, समाज, संस्कृति, इतिहास र जीवनका अनुभवबाट उपलब्ध गराउनुभएको सामग्रीलाई पाठकमाझ पु¥याउने माध्यमका रूपमा हामी आफूलाई लिएका छौँ।
बाँपिझ्याला डटकम खुला आकाशजस्तै सबैका लागि खुला माध्यम हो। यहाँ प्रकाशित सामग्री चित्त नबुझेमा तथ्यसहित खण्डन, प्रतिक्रिया तथा सुधारका सुझाव दिन सकिन्छ। सकारात्मक आलोचना र रचनात्मक सुझावलाई हामी सधैँ स्वागत गर्दछौँ।
हामी कसैलाई आक्षेप लगाउने, कसैको प्रतिष्ठामा आँच पु¥याउने वा पूर्वाग्रह राखेर सामग्री सम्प्रेषण गर्ने उद्देश्यमा छैनौँ र रहने पनि छैनौँ। जान–अन्जानमा कुनै त्रुटि वा कमजोरी भएको भए त्यसप्रति क्षमाप्रार्थी छौँ। सत्य, तथ्य र जिम्मेवार पत्रकारिताका मूल्यमान्यतालाई आत्मसात् गर्दै अघि बढ्नु हाम्रो प्रतिबद्धता हो।
व्यक्ति विशेष, राजनीतिक दल विशेष वा कुनै पक्षको प्रशंसाभन्दा माथि उठेर दोलखाको भाषा, संस्कृति, परम्परा, चालचलन, इतिहास र पहिचानको संरक्षणमा सञ्चार माध्यमको भूमिका निर्वाह गर्नु हाम्रो मूल ध्येय हो।
छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्दै गर्दा हामीले विगतका उपलब्धिसँगै आगामी चुनौतीलाई पनि आत्मसात् गरेका छौँ। प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेको छ। त्यसैले सूचना, समाचार, श्रव्य–दृश्य सामग्री तथा डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गर्दै दोलखाका विषयलाई अझ व्यापक दर्शक तथा पाठकमाझ पु¥याउने हाम्रो लक्ष्य छ।
दोलखाका इतिहासका गाथा लेख्ने, लुकेका प्रतिभा उजागर गर्ने, लोपोन्मुख संस्कृति र परम्पराको अभिलेखीकरण गर्ने तथा जिल्लाका सामाजिक, आर्थिक, सांस्कृतिक र विकासका गतिविधिलाई निरन्तर दस्तावेजीकरण गर्ने अभियानलाई आगामी दिनमा अझ सशक्त बनाउनेछौँ।
बाँपिझ्याला डटकमको यो यात्रा एउटा सञ्चार संस्थाको मात्र यात्रा होइन; यो दोलखाको माटो, भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडिएको साझा अभियान हो।
बाँपिझ्याला डटकमले छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सल्लाह, सुझाव र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौँ।
यस यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय दोलखावासी मान्यजन, डाक्टर, वकिल, प्राध्यापक, व्यवसायी, समाजसेवी, लेखक, पत्रकार, युवा पुस्ता, विभिन्न पेसा तथा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरू, दाजुभाइ, दिदीबहिनी, स्थानीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण शुभचिन्तक महानुभावहरूका साथै स्थानिय निकया भीमेश्वर नगरपालीका प्रमुख, उपप्रमुख लगायत परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
यहाँहरूको निरन्तर माया, विश्वास, साथ, सहयोग र सद्भावले नै बाँपिझ्याला डटकमलाई यो यात्रासम्म आइपुग्न प्रेरणा र ऊर्जा प्रदान गरेको हो। पाठक, शुभचिन्तक तथा सहयोगी सबैप्रति हामी सदैव आभारी छौँ।
आगामी दिनमा पनि यहाँहरूको यही माया, विश्वास, साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहने विश्वास लिएका छौँ। अझ जिम्मेवार, विश्वसनीय र जनमुखी पत्रकारितामार्फत स्थानीय आवाजलाई सशक्त रूपमा उठाउँदै अघि बढ्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
बाँपिझ्याला डटकम तपाईं–हामी सबैको साझा आवाज हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij