Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

आजदेखि नयाँ विशेषतासहितको ५० रुपैयाँको नोट चलनचल्तीमा

आजदेखि नयाँ विशेषतासहितको ५० रुपैयाँको नोट चलनचल्तीमा

नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछन्। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख गरिएको छ।

नयाँ नोटको अगाडिको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनी ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ। उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ तथा तल्लो भागमा ‘RUPEES FIFTY’ लेखिएको छ। त्यहाँ सिरिज नम्बर ‘2025 A.D.’ समेत उल्लेख गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो।

त्यतिबेला उल्लेख गरिएका संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नयाँ नोटमा सुरक्षा विशेषता थपिनुका साथै साविककै आकार र रङ कायम गरिएकाले सर्वसाधारणले दैनिक कारोबारमा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार