Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

एसियाडको उद्घाटनअघि नै नेपाली महिला भलिबलको चुनौती समाप्त

एसियाडको उद्घाटनअघि नै नेपाली महिला भलिबलको चुनौती समाप्त

नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपाली महिला भलिबल टोलीको पदक यात्रा समूह चरणमै समाप्त भएको छ। नेपाल बिहीबार इन्डोनेसियासँग सोझो सेटमा पराजित भएपछि अन्तिम आठमा पुग्ने सम्भावना समाप्त भएको हो। एसियाडको औपचारिक उद्घाटन भने शनिबार हुँदैछ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा हार व्यहोरेको थियो। क्वाटरफाइनल प्रवेशको सम्भावना कायम राख्न इन्डोनेसियाविरुद्ध जित आवश्यक थियो। तर इन्डोनेसियाले नेपाललाई २५–१२, २५–२१ र २५–२० ले पराजित गर्‍यो।

लगातार दोस्रोपटक एसियाड खेलिरहेको नेपाली महिला भलिबल टोलीले अब ९औँदेखि १४औँ स्थानका लागि हुने वर्गीकरण खेलमा प्रतिस्पर्धा गर्नेछ। समूह चरणका बाँकी खेल सकिएपछि नेपालको आगामी प्रतिद्वन्द्वी तय हुनेछ।

नेपालको अन्तिम आठमा पुग्ने सम्भावना समाप्त भएसँगै समूह ‘ए’ बाट जापान र इन्डोनेसिया क्वाटरफाइनल पुगेका छन्। जापान भलिबल संघले पनि नेपालविरुद्धको खेलमा जापानले २५–८, २५–१२ र २५–११ को जित निकालेको पुष्टि गरेको छ।

महिला खेलाडीको सहभागिता अपेक्षाअनुसार हुन सकेन

क्रिकेट, फुटबल र भलिबलमा नेपाली महिला राष्ट्रिय टोलीको प्रगति देखिए पनि यसपटक आइची–नागोया एसियाडमा महिला क्रिकेट र महिला फुटबलले सहभागिता जनाउन सकेनन्। महिला भलिबल टोली भने छनोट हुँदै एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगितामा सहभागी भएको थियो।

आइची–नागोया एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुँदैछ। प्रतियोगितामा एसियाका ४५ देश तथा क्षेत्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन्। कुल खेलाडी, प्रशिक्षक, अफिसियल तथा सपोर्ट स्टाफको संख्या १७ हजार हाराहारी पुगेको छ।

क्रुजमै खेलाडीको ‘भिलेज’

यसपटकको एसियाडमा खेलाडी बस्ने व्यवस्था पनि विशेष छ। आयोजकले परम्परागत रूपमा निर्माण गरिने छुट्टै ‘एथ्लेट्स भिलेज’ नबनाई होटल, क्रुज जहाज र अस्थायी कन्टेनर शैलीका आवास प्रयोग गरेको छ।

इटालियन क्रुज जहाज कोस्टा सेरेनालाई खेलाडी तथा अफिसियलको आवासका रूपमा प्रयोग गरिएको छ। करिब ४ हजार सहभागीलाई जहाजमा राख्ने व्यवस्था गरिएको छ। जहाजमा विभिन्न सुविधा उपलब्ध छन्। अन्य करिब २ हजार सहभागीलाई कन्टेनर शैलीका अस्थायी आवासमा राखिने र बाँकीलाई होटलमा व्यवस्थापन गरिएको छ।

नेपालका उसु र टेबलटेनिसका खेलाडी पनि यही कोस्टा सेरेना जहाजमा बसेका छन्। नेपाली कबड्डी टोली पनि शुक्रबारदेखि सोही जहाजमा रहने तयारीमा छ। नेपालका अन्य टोलीका खेलाडी तथा अफिसियललाई पनि यही क्रुजमा राखिने सम्भावना रहेको छ।

आयोजकका अनुसार ठूलो संख्यामा सहभागी भएकाले आवास व्यवस्थापनका लागि नयाँ विकल्प अपनाइएको हो। यसक्रममा क्रुजमा बस्ने खेलाडीलाई समुद्रमै बसेर एसियाडको अनुभव लिने अवसर मिलेको छ। तर आवास व्यवस्थापनका विषयमा केही टोलीले गुनासोसमेत गरेका छन् र आयोजकले त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

आइची–नागोया एसियाड जापानमा आयोजना हुने तेस्रो एसियाली खेलकुद हो। यसअघि जापानले सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एसियाड आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार