Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

२३ दिनदेखि ढोकातिर हेर्दै कालिका : ‘सपनामा उहाँलाई देख्छु, विपनामा बिलाउनुहुन्छ!

२३ दिनदेखि ढोकातिर हेर्दै कालिका : ‘सपनामा उहाँलाई देख्छु, विपनामा बिलाउनुहुन्छ!

‘सपना हो कि विपना हो, यो के हो जिन्दगी ?
छिनको छिनै बदलियो, के भो जिन्दगी ?’

चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको गीतका यी हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन्। अहिले यी हरफ दोलखाकी कालिका खड्काको जीवनसँग ठ्याक्कै मेल खाएजस्तो भएको छ।

सपना र विपनाबीचको फरक छुट्याउन नसक्ने अवस्थामा पुग्नुभएको छ उहाँ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि श्रीमान् टेकराज थामी सम्पर्कविहीन भएपछि कालिकाका हरेक दिन प्रतीक्षा, आशा र अनिश्चितताबीच बितिरहेका छन्।

चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’को कार्यक्रममा सहभागी हुन रसुवागढीतर्फ हिँड्नुभएका नयाँ पत्रिकाकर्मी टेकराज भदौ १० गते बिहानदेखि नै सम्पर्कविहीन हुनुहुन्छ। त्यसयता न फोन आएको छ, न एसएमएस। न त उहाँको अवस्थाबारे कुनै ठोस खबर नै आएको छ।

दिन बित्दै गए। २३ दिन पुगिसक्यो। तर कालिकाको प्रतीक्षा सकिएको छैन।

हरेक दिन साँझ पर्न थालेपछि काममा गएका मानिस घर फर्किन्छन्। सडकमा मानिसको आवतजावत कम हुँदै जान्छ। यही समयमा कालिकाको मनमा एउटा प्रश्न उठ्छ–‘यतिबेलासम्म किन घर नफर्कनुभएको होला?’

कहिलेकाहीँ त उहाँलाई लाग्छ, अब ढोकामा टेकराज टुप्लुक्क आइपुग्नुहुनेछ।

कालिका मायाले टेकराजलाई ‘जी’ भनेर बोलाउनुहुन्थ्यो।

‘आज अलि ढिला हुन्छ है’ भन्ने फोनको प्रतीक्षा

पत्रकारिताको पेशामा रहेका टेकराज समाचार संकलनको कामले कहिलेकाहीँ रातिसम्म घरबाहिरै रहनुहुन्थ्यो। ढिला हुने भएपछि फोन आउँथ्यो–‘आज अलि ढिला हुन्छ है।’

त्यही एउटा फोनले घरमा रहेका श्रीमती र छोरीलाई ढुक्क बनाउँथ्यो।

‘तिमीहरू खाना खाएर सुत। छोरीलाई बाबा आउन ढिला हुने भयो भन्देऊ।’

यस्ता सन्देश कालिकाका लागि सामान्य थिए। ढिला भए पनि फर्केर आउने मान्छे थिए टेकराज।

तर अहिले त्यही फोन आएको २३ दिन भइसक्यो।

‘पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो। अहिले पनि साँझ परेपछि उहाँको फोन आउँछ कि जस्तो लाग्छ,’ कालिका भन्नुहुन्छ, ‘फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश अझै मरेको छैन।’

घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक गर्छ।

‘टेकराज पो आउनुभयो कि?’

तर ढोका खोल्दा बाहिर कोही हुँदैन।

सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिका पनि २३ दिनदेखि त्यही अवसरको प्रतीक्षामा छिन्।

बाबा घर फर्किएपछि छोरी ढोका खोल्न नआएसम्म बाहिरै बस्ने भन्दै मायाले घुर्काउनुहुन्थ्यो टेकराज। छुट्टीको समयमा बाबुछोरी घुम्न निस्कन्थे। सानासाना खुसी बाबासँग ‘शेयर’ गर्ने कृतिकाको बानी थियो।

तर २३ दिनदेखि त्यो खुसी बाँड्ने साथी घरमा छैनन्।

कुशे औँसीमा समेत कृतिकाले बाबुको तस्बिर हेरेर चित्त बुझाउनुपर्‍यो।

सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्–‘बाबा आउनुभएछ कि?’

छोरीको यही प्रश्नले कालिकाको मन झन् भारी हुन्छ।

‘सडकमा मोटरसाइकल चल्दा पनि छोरीले बाबा आउनुभएछ क्यारे भन्छिन्,’ कालिका सुनाउनुहुन्छ, ‘मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ।’

आशा र निराशाबीच बितेका २३ दिन

टेकराज कतै उपचाररत हुनुहुन्छ कि?

कुनै सुरक्षित ठाउँमा हुनुहुन्छ कि?

आज नभए भोलि घरको ढोकामा आइपुग्नुहुन्छ कि?

यी प्रश्नको उत्तर कालिकासँग छैन। तर प्रश्नहरू भने हरेक दिन उहाँको मनमा दोहोरिन्छन्।

मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गरेको छैन। तर उहाँ सुरक्षित हुनुहुन्छ भनेर ढुक्क हुने आधार पनि छैन।

यही अनिश्चितताले कालिकाको मनलाई हरेक दिन एउटा कठिन परीक्षाबाट गुजारिरहेको छ।

टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवान्को अगाडि बत्ती बालिरहनुभएको छ। बलिरहेको बत्तीलाई लामो समय नियालेर हेर्नुहुन्छ।

दियोको ज्योति स्थिर र उज्यालो देखिँदा मनमा आशा पलाउँछ–‘टेकराज सुरक्षित हुनुहुन्छ होला।’

तर झ्यालढोकाबाट आएको हावाले दियो धिपधिप गराउँदा मनमा डर पैदा हुन्छ।

‘बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ,’ उहाँ भन्नुहुन्छ, ‘तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो सङ्केत त होइन भन्ने डर लाग्छ।’

कालिकाका लागि पछिल्ला दिन यस्तै बितिरहेका छन्–आशाको सानो उज्यालो समातेर अनिश्चितताको अँध्यारोसँग लड्दै।

गजलकार प्रदीप रोदनका हरफझैँ–

‘जबजब मलाई उज्यालोको आश लाग्छ,
आमा यो टुकीमा किन बतास लाग्छ?’

भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि सकुशल फर्किने आशामा दिन गनिरहेका परिवारको पीडासँग यी हरफ पनि जोडिन्छन्।

‘भोलि त पक्कै फोन आउला’

भदौ १० गते टेकराज चीनको केरुङ पुगिसक्नुभएको होला भन्ने कालिकालाई लागेको थियो। उहाँलाई दिइएको जानकारीअनुसार बिहान ७ बजे नै चीनतर्फ जाने तयारी थियो।

त्यही दिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर फैलियो।

बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो। तर त्यतिबेलासम्म टेकराज जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसक्नुभएको होला भन्ने उहाँलाई लागेको थियो।

दिनभर फोनको प्रतीक्षा भयो।

साँझ भयो। फोन आएन।

‘चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला।’

कालिकाले आफैँलाई सम्झाउनुभयो।

‘भोलि त पक्कै फोन आउला।’

तर भोलिपल्ट पनि फोन आएन।

पर्सिपल्ट पनि आएन।

दिन बित्दै गए। फोन आएन। कुनै खबर आएन।

विस्तारै आशाभन्दा डर बढ्न थाल्यो।

त्यसपछि सुरु भयो टेकराजको खोजी।

१५ वर्षको सहयात्रापछि आएको अनिश्चितता

विसं २०६८ वैशाख २८ गते कालिका र टेकराजको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील विवाह भएको थियो।

सहयात्राका १५ वर्ष बितिसकेका थिए।

यी वर्षमा परिवारमा छोरी कृतिका थपिइन्। सुख–दुःखका अनेक क्षण आए। पत्रकारिताको व्यस्तता र पारिवारिक जिम्मेवारीसँगै उनीहरूको जीवन अगाडि बढिरहेको थियो।

तर भोटेकोशीको बाढीले एकैछिनमा सबै कुरा बदलिदियो।

छोरा हराएदेखि ओभानो छैन आमाबुबाको आँखा

टेकराजका बुबा डिलबहादुर थामी र आमा लीलादेवी थामीका लागि २३ दिनदेखि छोरा आउने प्रतीक्षा उस्तै छ।

छोरा खोज्न टेकराजका भाइ प्रेमबहादुर थामी दुबईबाट आकस्मिक बिदा मिलाएर नेपाल आउनुभयो। नेपाली सेनाको हेलिकोप्टरमार्फत रसुवाका सम्भावित क्षेत्रमा खोजी गरियो। तर टेकराजको कुनै अत्तोपत्तो लागेन।

भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाइ बेपत्ता भएदेखि बेचैन छन्।

टेकराजकी सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनका दिन ज्वाइँसँग कुरा गर्न चाहनुभयो। तर ज्वाइँ बेपत्ता भएको खबर सुनेदेखि उहाँ पनि भावविह्वल हुनुहुन्छ।

‘ज्वाइँ अहिले यतैबाट आउनुहुन्छ जस्तो लाग्छ,’ उहाँ भन्नुहुन्छ।

कालिकाका भाइ विश्वास खड्का भिनाजुको तस्बिर बोकेर अस्पतालसम्म पुग्नुभयो। बेपत्ता व्यक्तिहरूको विवरणमा फोटो राख्दै खोजी गर्नुभयो। तर टेकराज कतै भेटिनुभएन।

‘मिसकल’ले दिएको क्षणिक आशा

टेकराज सम्पर्कविहीन भएको दुई–तीन दिनपछि एकाएक उहाँकै म्यासेन्जरबाट ‘मिसकल’ आएको खबर फैलियो।

त्यो एउटा मिसकलले परिवारमा केही क्षणका लागि आशा जगायो।

‘टेकराज कतै सुरक्षित हुनुहुन्छ।’

सामाजिक सञ्जालमा समेत उहाँ सम्पर्कमा आएको खबर फैलियो। धेरैले राहतको सास फेरे। कालिकाको फोन, भाइबर र म्यासेन्जरमा बधाईका सन्देश आउन थाले।

तर त्यो खुसी लामो समय टिकेन।

कालिकाले सामाजिक सञ्जालमार्फत नै टेकराजसँग अहिलेसम्म सम्पर्क नभएको स्पष्ट पार्नुभयो। म्यासेन्जरमा आएको मिसकल टेकराज आफैँले गर्नुभएको हो भन्ने पुष्टि हुन नसकेको उहाँले बताउनुभयो।

‘त्यो मिसकल आएको भन्न सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो,’ कालिका भन्नुहुन्छ, ‘एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ। तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन। फेरि उही प्रतीक्षामा बस्नुपर्‍यो।’

त्यो घटनाले कालिकालाई आशा कति छिटो जन्मिन्छ र कति छिटो टुट्छ भन्ने अनुभूति गरायो।

‘सपनामा उहाँलाई देख्छु, विपनामा बिलाउनुहुन्छ’

दिनमा प्रतीक्षा गर्दागर्दै कहिलेकाहीँ कालिकालाई लाग्छ–सपनामा भए पनि टेकराज आइदिए हुन्थ्यो।

सपनामा टेकराज आउनुहुन्छ। कुरा गर्नुहुन्छ। सामीप्य महसुस हुन्छ।

तर एकाएक निद्रा खुल्छ।

अनि वास्तविकता फेरि अगाडि उभिन्छ।

‘सपनामा उहाँलाई देख्छु। विपनामा बिलाउनुहुन्छ,’ भावुक हुँदै कालिका भन्नुहुन्छ, ‘म नब्युँझिएको भए अझै धेरै बेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ।’

भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिए हुन्थ्यो र सपनामा उहाँ सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिए हुन्थ्यो भन्ने लाग्छ कालिकालाई।

‘मलाई देवी मान्नुहुन्थ्यो’

कालिकाको सम्झनामा टेकराजको व्यक्तित्व अझै उस्तै ताजा छ।

‘मलाई देवी मान्नुहुन्थ्यो। तिमी मेरो आमापछिको आमा हौ भन्नुहुन्थ्यो,’ कालिका सम्झनुहुन्छ, ‘सधैँ खुशी र प्रगति चाहने, महिलालाई अत्यन्तै सम्मान गर्ने। छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगिहाल्ने बानी थियो।’

साथीहरूले पनि टेकराजजस्तो मान्छे भेट्न गाह्रो हुने बताउने गरेको उहाँ सम्झनुहुन्छ।

‘राम्रो मान्छे सायद भगवान्का प्रिय हुने रहेछन्,’ उहाँ भन्नुहुन्छ, ‘केरुङ जाने केही दिनअघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भन्नुभएको थियो। के थाहा, केही दिनपछि म बाढीमा पर्नेछु र यो घर पनि अशान्त बन्नेछ भनेर।’

‘थामी समुदायको खम्बा ढल्यो’

नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकराजको बेपत्ता घटनालाई थामी समुदायका लागि ठूलो क्षतिका रूपमा लिनुभएको छ।

‘थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ,’ उहाँ भन्नुहुन्छ।

टेकराज थामी गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठ संयोजकसमेत हुनुहुन्थ्यो। थामी भाषा, समुदाय र पत्रकारितामा उहाँको सक्रिय भूमिका रहेको सहकर्मी तथा समुदायका अगुवाहरू बताउँछन्।

विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा जन्मिनुभएका टेकराजले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको थियो। उहाँ नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुका साथै बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापनसमेत गराउँदै आउनुभएको थियो।

शनिबार कुशको शव बनाएर अन्त्येष्टि

२३ दिनसम्म खोजी गर्दा पनि टेकराजको अवस्था पत्ता नलागेपछि परिवारले अब धार्मिक विधिअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको छ।

शनिबार बिहान ८ बजे पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गर्ने परिवारको तयारी छ।

तर अन्त्येष्टिको तयारी भइरहँदा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन।

‘पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो,’ आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्नुहुन्छ, ‘तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन।’

शनिबार धार्मिक संस्कार पूरा हुनेछ। परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ। तर त्यसपछि पनि कालिकाको मनले यो वास्तविकतालाई कति सहज रूपमा स्वीकार गर्ला, त्यो समयले नै बताउनेछ।

शोकलाई शक्तिमा बदल्ने प्रयास

टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका हुनुहुन्छ। कृतिकाका लागि आमा कालिका।

दुवैले एकअर्कालाई सम्हालिरहेका छन्।

कालिका पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार हुनुहुन्छ। आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्नुभन्दा अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारीसमेत उहाँले सम्झिरहनुभएको छ।

‘म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ,’ उहाँ भन्नुहुन्छ, ‘उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छ जस्तो लाग्छ। सम्हालिँदै छु।’

समयसँगै पीडामा खाटा बस्ने र आफू फेरि नियमित पत्रकारितामा फर्किने विश्वास उहाँमा छ।

‘विस्तारै यो चोटमा खाटा बस्ला। अनि सामान्य रिपोर्टिङमै फर्कनेछु,’ उहाँ भन्नुहुन्छ।

टेकराजको अनुपस्थिति एउटा परिवारको मात्र पीडा होइन। छोरी कृतिकाले बाबु गुमाएकी छन्। आमाबुबाले छोरा गुमाएका छन्। भाइबहिनीले दाइ गुमाएका छन्। कालिकाले जीवनसाथी गुमाएकी छन्। थामी समुदायले आफ्नो भाषा र पहिचानका लागि सक्रिय व्यक्तित्व गुमाएको छ। पत्रकारिता क्षेत्रले एक सक्रिय सञ्चारकर्मी गुमाएको छ।

भौतिक रूपमा टेकराज कहाँ हुनुहुन्छ भन्ने प्रश्नको उत्तर २३ दिनसम्म पनि भेटिएको छैन। तर उहाँका काम, योगदान र परिवार तथा सहकर्मीको स्मृतिमा उहाँको उपस्थिति भने सधैँ रहनेछ।

‘सपना हो कि विपना हो, यो के हो जिन्दगी ?
छिनको छिनै बदलियो, के भो जिन्दगी ?’

भोटेकोशीको बाढीले कालिकाको जीवनमा पनि यही प्रश्न छाडेर गएको छ–प्रतीक्षा कहिले सकिन्छ, थाहा छैन। तर आशा अझै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार