Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

एसियाली खेलकुदमा नेपालको यात्रा : ९ खेलाडीबाट १३५ खेलाडीसम्म

एसियाली खेलकुदमा नेपालको यात्रा : ९ खेलाडीबाट १३५ खेलाडीसम्म

नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । खेलाडी गजराज जोशीको नेतृत्वमा नेपालले सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो एसियाली खेलकुदमा सहभागिता जनाएको थियो। त्यसयता नेपाल एसियाली खेलकुद (एसियाड) को नियमित सहभागी राष्ट्रका रूपमा रहँदै आएको छ।

एसियाली क्षेत्रकै सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगिताको २०औँ संस्करण शनिबार जापानको नागोया सहरमा सुरु हुँदैछ। यससँगै एसियाडमा नेपालको सहभागिता पनि विगतको तुलनामा निकै व्यापक बनेको छ।

नेपालले पहिलो संस्करणमा एथलेटिक्सतर्फ ९ सदस्यीय टोली पठाएको थियो। अहिले नागोया एसियाडमा भने नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदैछ। सहभागी खेलाडीमध्ये ५७ महिला र ७८ पुरुष छन्।

उद्घाटन समारोहमा नेपालको प्रतिनिधित्व गर्दै बक्सिङका चन्द्र थापा मगर र महिला खेलाडी मानमति विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेर मार्चपास गर्ने बताइएको छ।

जापानले एसियाली खेलकुद आयोजना गर्न लागेको यो तेस्रोपटक हो। प्रतियोगिता असोज ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार एसियाका ४५ देशका ११ हजारभन्दा बढी खेलाडीले ४३ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता आयोजनाका लागि आयोजक आइची–नागोयाले करिब २.४ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३६९ अर्ब नेपाली रुपैयाँ खर्च गरेको जनाइएको छ। यसले एसियाली खेलकुदको बढ्दो आकार, पूर्वाधार र व्यवस्थापनको व्यापकतालाई समेत देखाउँछ।

नेपाली खेलाडीका लागि एसियाडको विशेष महत्त्व

नेपालका खेलाडीका लागि एसियाली खेलकुदलाई ओलम्पिकभन्दा पनि महत्त्वपूर्ण प्रतियोगिताका रूपमा लिने गरिन्छ। यसको एउटा प्रमुख कारण सहभागिताको अवसर हो। ओलम्पिकमा सहभागी हुन खेलाडीले सम्बन्धित छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ भने एसियाडमा नेपालले राष्ट्रिय टोलीका रूपमा सहभागिता जनाउने अवसर पाउँदै आएको छ।

तर पछिल्लो समय एसियाडमा समेत छनोटको प्रक्रिया सुरु हुन थालेकाले आगामी दिनमा नेपाली खेलाडीका लागि सहभागिताको बाटो थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ।

पहिलो एसियाडमा केवल ९ एथलेटिक्स खेलाडीबाट सुरु भएको नेपालको यात्रा अहिले २१ खेलका १३५ खेलाडी सहभागी हुने अवस्थासम्म आइपुगेको छ। यसले एसियाली खेलकुदमा नेपालको सहभागिताको दायरा विस्तार हुँदै गएको देखाए पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन सुधार्नु नेपाली खेलकुदका लागि अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार