नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दोलखामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जेनजी आन्दोलनपछि पहिलोपटक पार्टीका तीन प्रभावशाली केन्द्रीय नेतालाई जिल्ला ल्याएर नेकपा दोलखाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
सदरमुकाम चरिकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन र बेदुराम भुसालले जिल्लाका नेता तथा कार्यकर्तालाई विभिन्न समसामयिक राजनीतिक, वैचारिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा नेताहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे चर्चा गर्दै संविधान, लोकतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको संरक्षणका लागि कम्युनिष्ट तथा वामपन्थी शक्तिहरू थप संगठित र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रशिक्षण दिँदै नेकपाका नेताहरूले साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप तीव्र बन्दै जाँदा मुलुक गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आफूहरूले लामो संघर्ष र बलिदानबाट स्थापित गरेको संविधान तथा लोकतन्त्रका उपलब्धिमाथि विभिन्न कोणबाट प्रहार भइरहेको उनीहरूको भनाइ थियो।
संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपालका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूको भएको उल्लेख गर्दै नेताहरूले त्यसका लागि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका थिए।
उनीहरूले वर्तमान परिस्थितिको सामना गर्न पुरानै शैली, संरचना र कार्यप्रणालीबाट मात्रै सम्भव नहुने भन्दै नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको यथास्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्दै संगठनात्मक रूपमा पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने तथा त्यसका माध्यमबाट गुणात्मक परिवर्तनतर्फ अघि बढ्नुपर्ने नेताहरूको धारणा थियो।
प्रशिक्षण कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक परिस्थिति, समसामयिक राजनीतिक विषय र पार्टीको आगामी कार्यदिशाका विषयमा प्रशिक्षण दिएका थिए।
श्रेष्ठले बदलिँदो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनले वर्तमान चुनौती र सम्भावनालाई गम्भीरतापूर्वक बुझेर आफ्नो राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका थिए।
उनले संविधान र लोकतन्त्रका उपलब्धिको संरक्षणसँगै जनतासँगको सम्बन्धलाई थप बलियो बनाउँदै पार्टी संगठनलाई प्रभावकारी बनाउनुपर्ने विषयमा समेत धारणा राखेका थिए।
नेता बेदुराम भुसालले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ विषयमा प्रशिक्षण दिएका थिए। उनले नेपालको सामाजिक, आर्थिक र राजनीतिक विशेषतालाई ध्यानमा राखेर समाजवादको आधार निर्माण गर्नुपर्ने विषयमा चर्चा गरेका थिए।
नेपालमा समाजवाद निर्माणका लागि कम्युनिष्ट आन्दोलनले सैद्धान्तिक स्पष्टतासँगै व्यवहारिक कार्यदिशा पनि तय गर्नुपर्नेमा उनले जोड दिएका थिए।
अर्का नेता वर्षमान पुनले पार्टीको आजको संगठनात्मक संरचना र कार्यप्रणालीका विषयमा प्रशिक्षण दिएका थिए।
पुनले बदलिएको राजनीतिक तथा सामाजिक परिस्थितिअनुसार पार्टीको संगठनात्मक संरचना र काम गर्ने शैलीमा समेत परिवर्तन आवश्यक रहेको बताएका थिए। पार्टीलाई जनतासँग जोड्ने, संगठनलाई गतिशील बनाउने तथा नेता–कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने विषयमा उनले प्रशिक्षण दिएका थिए।
प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले पनि मन्तव्य राखेका थिए। उनले पछिल्लो राजनीतिक परिस्थिति, पार्टी संगठन र प्रदेशस्तरमा देखिएका चुनौतीका विषयमा धारणा राखेका थिए।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्कालगायतका नेताहरूले पनि कार्यक्रममा मन्तव्य राखेका थिए।
जेनजी आन्दोलनपछि नेकपाले दोलखामा पहिलोपटक तीन प्रभावशाली केन्द्रीय नेतालाई एउटै कार्यक्रममा सहभागी गराएर जिल्ला स्तरीय प्रशिक्षण गरेको हो।
पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक पुनर्गठन र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल तथा प्रशिक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपा दोलखाले जनाएको छ।
चरिकोटमा सम्पन्न प्रशिक्षणमा जिल्लाका पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममार्फत वर्तमान राजनीतिक परिस्थितिको विश्लेषणसँगै पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र रूपान्तरणमुखी बनाउने विषयमा जोड दिइएको थियो।
फोटोः सुब्बा श्रेष्ठ
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij