Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, शुक्रबार र शनिबार बढी जोखिम

असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, शुक्रबार र शनिबार बढी जोखिम

नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने प्रारम्भिक पूर्वानुमान सार्वजनिक भएको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली नेपालतर्फ सर्ने सम्भावना देखिएसँगै मौसमविद्हरूले सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे सतर्क रहन आग्रह गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययनपछि असोज ८ देखि १२ गतेसम्म पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको बताएका छन्।

उनका अनुसार विशेषगरी असोज ९ र १० गते शुक्रबार तथा शनिबार भारी वर्षाको जोखिम बढी देखिएको छ। विभिन्न मौसम पूर्वानुमान मोडलले फरक–फरक क्षेत्रमा वर्षाको सम्भावना देखाए पनि समग्रमा नेपालका धेरै भूभागमा उल्लेखनीय वर्षा हुनसक्ने संकेत गरेका छन्।

केही पूर्वानुमान मोडलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने संकेत गरेका छन्। कतिपय मोडलमा अझ बढी वर्षाको सम्भावना देखिए पनि यस्तो वर्षा देशभर समान रूपमा नपरी निश्चित स्थानमा केन्द्रित हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

बंगालको खाडीको प्रणाली नेपालतर्फ सर्ने सम्भावना

मौसमविद्हरूका अनुसार बंगालको खाडी तथा अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणाली क्रमशः उत्तर–पश्चिमतर्फ सर्ने क्रममा छ। उक्त प्रणालीको प्रभाव नेपालमा परेमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको हो।

जल तथा मौसम विज्ञान विभागले पनि प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार सात दिनसम्मको पूर्वानुमान हेर्दा उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना देखिएको छ। तर प्रणाली अहिले विकासकै क्रममा रहेकाले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन।

लामिछानेका अनुसार प्रणालीको विकास र गति हेर्दै आगामी दिनमा वर्षाको सम्भावित मात्रा तथा प्रभावित क्षेत्रबारे थप स्पष्ट पूर्वानुमान सार्वजनिक गरिनेछ।

पश्चिम नेपालमा बढी वर्षाको सम्भावना

मौसम पूर्वानुमानका विभिन्न मोडलले वर्षाको क्षेत्रबारे फरक–फरक संकेत गरेका छन्। केही मोडलले पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना देखाएका छन् भने केहीले पश्चिम नेपालमा बढी वर्षा हुने संकेत गरेका छन्।

हालका केही पूर्वानुमानमा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षाको सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन्। साथै लुम्बिनी प्रदेशमा पनि भारी वर्षाको सम्भावना विभिन्न मोडलले देखाएका छन्।

यद्यपि मौसम प्रणालीको मार्ग र गतिमा सामान्य परिवर्तन हुँदा वर्षाको मात्रा र केन्द्रसमेत परिवर्तन हुनसक्ने भएकाले अहिले नै कुनै निश्चित स्थानमा अत्यधिक वर्षा हुने भनेर निष्कर्ष निकाल्न नमिल्ने मौसमविद्हरूको भनाइ छ।

बाढी र पहिरोको जोखिमप्रति सचेत रहन आग्रह

मनसुनको उत्तरार्द्धमा लामो समयसम्म भारी वर्षा हुँदा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। पहिल्यै भिजेको जमिनमा पुनः लगातार वर्षा हुँदा पहिरो जाने सम्भावना बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यस्तै, वर्षाको सम्भावित अवस्थालाई ध्यानमा राख्दै किसानले पाक्न लागेको बाली जोगाउने पूर्वतयारी गर्नुपर्ने र सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रको पहिचान गरी सडक तथा यातायात सञ्चालनका विषयमा आवश्यक तयारी गर्नुपर्ने सुझाव दिइएको छ।

मौसम प्रणाली अझै विकासकै क्रममा रहेकाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भए पनि कुन दिन, कुन स्थानमा र कति मात्रामा वर्षा हुन्छ भन्ने विषयमा थप अद्यावधिक पूर्वानुमान आवश्यक हुने मौसमविद्हरूले स्पष्ट पारेका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि पछिल्लो अवस्थाको निरन्तर निगरानी गरिरहेको छ र प्रणाली थप विकसित हुँदै गएपछि आवश्यक विशेष मौसम बुलेटिन तथा पूर्वानुमान सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार