Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भारी वर्षाको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेकपाको अपिल

भारी वर्षाको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेकपाको अपिल

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्को जोखिमप्रति उच्च सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको अपिलमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बंगालको खाडीको उत्तर अण्डमान सागर आसपास विकसित न्यूनचापीय मौसमी प्रणालीका कारण विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने पार्टीले जनाएको छ।

मौसम विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

नेकपाले नदी तथा खोलानाला आसपास, पहिरोको जोखिमयुक्त पहाडी तथा भिराला भूभाग र डुबान हुनसक्ने क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पूर्वसूचना पाएमा सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी र बिरामीको सुरक्षामा विशेष ध्यान दिन पार्टीले अनुरोध गरेको छ।

त्यस्तै, अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र हवाई तथा स्थलमार्गबाट यात्रा गर्नुपरेमा सम्बन्धित सरकारी निकाय तथा सुरक्षा निकायको पछिल्लो सूचना लिएर मात्र यात्रा गर्न अपिलमा भनिएको छ।

पार्टीले आफ्ना सबै तहका कमिटी, जनवर्गीय संगठन, नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई नागरिकलाई सचेत गराउन, खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। स्थानीय पार्टी संरचनाले स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, रेडक्रस लगायत सरोकारवाला संस्थासँग समन्वय गरी विपद् व्यवस्थापनमा सहयोग गर्न पनि आग्रह गरिएको छ।

अपिलमा जल तथा मौसम विज्ञान विभागको ११५५, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा गृह मन्त्रालयको विपद् हेल्पलाइन १२३४ लगायतका आपत्कालीन सम्पर्क नम्बरबाट आवश्यक सहयोग लिन सकिने उल्लेख छ।

Notice-nekapa.gif
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार