Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमै रोकिए सार्वजनिक सवारी

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमै रोकिए सार्वजनिक सवारी

नेपाल सम्वत् ११४६, यंलाथ्वः १४, चतुर्दशी –९ असोज २०८३, २५ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । विभिन्न राजमार्गमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा यातायात प्रभावित भएको हो।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँ जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएपछि सार्वजनिक बसहरू उपत्यकामै रोकिएका छन्। काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन्।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायातका सवारीसाधन रोकिएको जानकारी दिनुभयो। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमै रोकिएको उहाँले बताउनुभयो।

यसैबीच, बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको छ। वर्षासँगै उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोरमा सवारीसाधन नरोक्न तथा पार्किङ नगर्न माइकिङमार्फत आग्रह गरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षाका कारण राजमार्गमा पहिरो जानसक्ने भन्दै चालक तथा व्यवसायीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित रूपमा मात्र आवतजावत गर्न आग्रह गर्नुभएको छ।

असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित निकायले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार