Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

सप्तकोशीमा पानीको बहाव घट्यो, तर जोखिम कायमै

सप्तकोशीमा पानीको बहाव घट्यो, तर जोखिम कायमै

नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । सप्तकोशी नदीमा पानीको बहाव केही घटे पनि जलसतह अझै अत्यधिक जोखिमको अवस्थामा रहेकाले कोशी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था कायमै रहेको छ।

कोशी ब्यारेजमा पछिल्लो मापनअनुसार पानीको बहाव ३ लाख ३ हजार ७९५ क्युसेक रहेको छ। यसअघि ३ लाख १६ हजार ७९५ क्युसेक मापन गरिएको थियो। पछिल्लो मापनमा पानीको बहाव करिब १३ हजार क्युसेकले घटेको हो।

यसअघि निरन्तर बढिरहेको कोशीको बहाव अहिले केही स्थिर भएको जनाइएको छ। तर ब्यारेजको जलसतह अझै अत्यधिक जोखिमको अवस्थामा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यसअघि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएकोमा अहिले ४० वटा ढोका खुला राखिएका छन्। पानीको बहाव घटेसँगै तीनवटा ढोका बन्द गरिएको जनाइएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कोशीको बहाव केही घटे पनि तटीय क्षेत्रमा जोखिम पूर्ण रूपमा नहटेकाले नागरिकलाई अझै सतर्क रहन आग्रह गर्नुभएको छ। उहाँका अनुसार नदीको जलसतह र पानीको बहावको निरन्तर निगरानी भइरहेको छ।

पानीको बहाव क्रमशः घट्दै गए जोखिम कम हुने भए पनि तत्काल नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह तथा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको जनाइएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कुनै पनि अप्रत्याशित अवस्था आउन सक्ने भएकाले आवश्यक तयारीसहित सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार