नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । लगातार भइरहेको वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेत जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत् प्रसारण तथा वितरण लाइनका पोलमा रुख ढल्नुका साथै कतिपय स्थानमा पोल नै ढलेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर विद्युत् आपूर्ति अवरुद्ध भएको छ। उक्त क्षेत्रमा ढलेको रुख हटाएर मर्मतसम्भारको काम भइरहेको र लाइन छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, लम्की–बाबियाचौर ३३ केभी लाइनमा रुख ढलेर ठूलो क्षति पुगेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ। सो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न सुर्खेत–बाबियाचौर ३३ केभी लाइनको फल्ट पहिचान तथा क्लियर गर्ने काम भइरहेको बताइएको छ।
यसैगरी, वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनमा पोल ढलेपछि विद्युत् सेवा आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको छ। ढलेको पोल मर्मत गरेपछि उक्त फिडर पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ।
सीतापाइला फिडरमा समेत फल्ट देखिएपछि प्राविधिक टोलीले समस्या पहिचान गरी लाइन सञ्चालनमा ल्याउने काम गरिरहेको छ।
लगातारको वर्षाका कारण सुर्खेतका अन्य विभिन्न स्थानमा पनि ११ केभी तथा एलटी लाइनका पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी मर्मतसम्भारको काम भइरहेको र सम्भव भएका स्थानमा क्रमशः विद्युत् सेवा सञ्चालनमा ल्याइँदै गरेको जनाइएको छ।
प्राधिकरणले वर्षाका कारण विद्युत् संरचनामा थप क्षति हुन सक्ने भएकाले ढलेका विद्युत् पोल, तार तथा प्रसारण लाइन नजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij