Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा –११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।

स्रोतका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। यद्यपि, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।

जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए। महाअभियोग प्रक्रियाका कारण लामो समय न्यायिक जिम्मेवारीबाट बाहिर रहेका उनी पछि सर्वोच्च अदालतबाट अवकाश भएका थिए।

को हुन् चोलेन्द्रशमशेर जबरा?

राणा परिवारमा जन्मिएका चोलेन्द्रशमशेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनी वीरशमशेरका छोरा इन्द्रशमशेरका नाति तथा युवराजशमशेरका छोरा हुन्। उनका पिता युवराजशमशेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए।

जबराले वकालतबाट आफ्नो कानुनी यात्रा सुरु गरेका थिए। २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका उनी लामो समय अस्थायी न्यायाधीशका रूपमा कार्यरत रहे। त्यसपछि उनले विशेष अदालतको सदस्यका रूपमा समेत काम गरे।

पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश रहेकै अवस्थामा उनी २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। संसदीय सुनुवाइका क्रममा केही राजनीतिक दलका सांसदले उनको नियुक्तिको विपक्षमा मत दिए पनि पछि उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बने।

जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए। प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा उनी विभिन्न विवादमा मुछिए। न्यायपालिकाको नेतृत्व र मन्त्रिपरिषद्सँग जोडिएका विषयलाई लिएर उनीमाथि प्रश्न उठेपछि कानुन व्यवसायीहरूले समेत आन्दोलन गरेका थिए।

२०७८ फागुनमा उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार