Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

कालीगण्डकीको बाढीले पर्वतमा २० भन्दा बढी घर बगायो

कालीगण्डकीको बाढीले पर्वतमा २० भन्दा बढी घर बगायो

नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा –११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा कालीगण्डकी नदीको बाढीले २० भन्दा बढी घर बगाएको छ। लगातारको वर्षापछि नदीमा पानीको बहाव बढ्दा बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको हो।

वडाध्यक्ष हरि विकास जिसीका अनुसार हालसम्म २० देखि २५ वटा घर बाढीले बगाइसकेको छ। नदीको बहाव अझै बढिरहेकाले थप घरहरू जोखिममा छन्। उनका अनुसार बाढीको अवस्था नियन्त्रणबाहिर जाँदै गर्दा सयभन्दा बढी घर प्रभावित हुन सक्ने अवस्था देखिएको छ।

बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म, गोठ तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। कालीगण्डकीको बाढी बस्ती नजिकै पस्न थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले जानकारी दिए।

‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो। सयभन्दा बढी घर बगाउने अवस्था छ,’ उनले भने, ‘ठूलो क्षति भएको छ। अहिले मानिसलाई सुरक्षित गर्नुबाहेक अरू विकल्प छैन।’

बाढीका कारण ठूलो मात्रामा भौतिक तथा धनमालको क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ। जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ।

लगातारको वर्षाका कारण कालीगण्डकीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा थप जोखिम देखिएको छ। स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार