नेपाल सम्वत् ११४६, यंलागाः २, द्वितिया –१२ असोज २०८३, २८ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’ को आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारलाई थप गति दिने उद्देश्यले निर्माण पक्षले गीतलाई नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याएको हो।
गीतको नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ।
नेपाली संस्करणमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। हृतिका श्रेष्ठको स्वर रहेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ। गीतमा प्रियंकासँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बीके र प्रदीप ढकाललाई पनि देख्न सकिन्छ।
हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ। यसमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ। त्यस्तै मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। मैथिली तथा भोजपुरी संस्करणका गीतकार सुमन मण्डल हुन् भने समीक्षा चौधरीले स्वर दिएकी छन्।
गीतमा मनोरञ्जनात्मक आइटम प्रस्तुति मात्र नभई चलचित्रका केही महत्वपूर्ण एक्सन दृश्यसमेत समेटिएको छ। विशेषगरी गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राट दासको डेब्यु चलचित्रसमेत हो।
चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बीके, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।
गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका छन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ। सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन्। भिएफएक्स समीर मियाँको रहेको चलचित्रमा लाइन प्रोडक्सन पंकज महतोले सम्हालेका छन्।
चलचित्रका कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह–निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्। निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन्।
**‘प्रतिवैरम्’**को कथा तथा निर्देशन रोशन दासको हो भने पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्। रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्र आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण भएको हो।
मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई नेसनल सिनेमा ग्रुपले वितरण गर्नेछ। मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई केन्द्रमा राखिएको ‘प्रतिवैरम्’ नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij