Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

म्याग्लुङमा गुञ्जियो प्रमोद, प्रकाश र देबेन्द्रको आवाज, १० हजारभन्दा बढी दर्शक झुमे

म्याग्लुङमा गुञ्जियो प्रमोद, प्रकाश र देबेन्द्रको आवाज, १० हजारभन्दा बढी दर्शक झुमे

नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला, तेह्रथुम । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा तेह्रथुमको म्याग्लुङमा भव्य सांगीतिक माहोल बनेको छ। ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत बुधबार आयोजित कार्यक्रममा तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा हजारौँ दर्शक संगीतमा झुमेका थिए।

कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका लोकप्रिय गीत प्रस्तुत गरेका थिए। प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका नेपाल र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले लाइभ प्रस्तुति दिएका थिए।

आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको ‘सुरताल म्युजिकल टुर २०८३’ तेह्रथुमबाट सुरु भएको हो। आयोजकका अनुसार सातै प्रदेशका १३ वटा सहरमा हुने टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोलीले सांगीतिक प्रस्तुति दिनेछ।

तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ। त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ।

त्यस्तै, नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका सहरमा पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजक सुनारले जानकारी दिएका छन्।

प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुलाई एउटै टुरमा सहभागी गराएर सातै प्रदेशका विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार