नेपाल सम्वत् ११४६, यंलागाः ९, नवमी (१९ असोज २०८३, ५ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । चार वर्षपछि कतारको दोहामा पुनः भेट्ने वाचासहित २०औँ एसियन गेम्स (एसियाड) आइतबार जापानमा भव्य रूपमा सम्पन्न भएको छ।
जापानको आइची–नागोया क्षेत्रमा रहेको पालोमा मिजुहो स्टेडियममा आयोजित समापन समारोहमा २१औँ एसियाडको आयोजक राष्ट्र कतारलाई झण्डा हस्तान्तरण गर्दै २०औँ एसियाडको औपचारिक समापन गरिएको हो।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष शेख बिन जोअन बिन हमाद अल थानीले २०औँ एसियाड औपचारिक रूपमा समापन भएको घोषणा गर्नुभएको थियो। समापन समारोहमा उहाँले आयोजक आइची प्रिफेक्चर र नागोया शहरलाई सफल आयोजनाका लागि धन्यवाद दिनुभयो।
समारोहका क्रममा ओसीए अध्यक्ष थानीले एसियाडको झण्डा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई हस्तान्तरण गर्नुभएको थियो। यससँगै आगामी एसियाड आयोजना गर्ने जिम्मेवारी औपचारिक रूपमा कतारमा पुगेको छ।
सन् २०३० मा आयोजना हुने २१औँ एसियन गेम्स कतारको राजधानी दोहामा हुनेछ। कतारले दोस्रो पटक एसियाड आयोजना गर्न लागेको हो। यसअघि सन् २००६ मा पनि दोहाले एसियन गेम्सको सफल आयोजना गरेको थियो।
समापन समारोहमा २०३० मा दोहामा हुने एसियाडको प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो। ‘चार वर्षपछि दोहामा भेटौँला’ भन्ने सन्देशसहित कतारले आफ्नो तयारी, संस्कृति, आधुनिक पूर्वाधार र खेलकुद क्षमताको झल्को दिने प्रस्तुति समेत प्रदर्शन गरेको थियो।
१६ दिनसम्म सञ्चालन भएको २०औँ एसियन गेम्समा एसियाका विभिन्न राष्ट्रका १७ हजारभन्दा बढी खेलाडी तथा अफिसियलको सहभागिता रहेको थियो। विभिन्न खेलका ४६९ स्वर्ण पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
समापन समारोहमा सहभागी राष्ट्रका खेलाडी तथा अफिसियलले मार्चपास गरेका थिए। त्यसक्रममा २०औँ एसियाडका प्रमुख क्षण, खेलाडीका उपलब्धि तथा प्रतियोगिताका आकर्षक दृश्य समेटिएको भिडियो हाइलाइटसमेत प्रस्तुत गरिएको थियो।
समारोहमा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति राखिएको थियो। खेलकुदसँगै एसियाली राष्ट्रबीचको मित्रता, सहकार्य र सांस्कृतिक विविधतालाई समेत समापन समारोहमा प्रस्तुत गरिएको थियो।
नेपालबाट पनि तेक्वान्दो, जुडो, कुस्ती लगायत विभिन्न खेलका खेलाडी तथा प्रतिनिधि समापन समारोहको मार्चपासमा सहभागी भएका थिए।
२०औँ एसियन गेम्समा चीनले आफ्नो पदकको दबदबा कायम राख्दै शीर्ष स्थान हात पारेको छ। चीनले १६९ स्वर्ण, ८९ रजत र ८१ कांस्य गरी कुल ३४१ पदक जितेको छ।
यसअघि आफ्नै भूमिमा आयोजित १९औँ एसियाडमा चीनले २०१ स्वर्ण पदक जितेको थियो। यसपटक भने चीनले १६९ स्वर्ण जित्दै पदक तालिकामा पहिलो स्थान कायम राखेको हो।
आयोजक जापान ८३ स्वर्ण, ८५ रजत र ९१ कांस्य गरी कुल २६९ पदकसहित दोस्रो स्थानमा रह्यो। जापानले यसपटक अघिल्लो संस्करणको तुलनामा स्वर्ण पदक संख्या बढाएको छ।
दक्षिण कोरिया ३९ स्वर्ण, ६३ रजत र ६८ कांस्यसहित कुल १५० पदक जितेर तेस्रो स्थानमा रह्यो। भारत २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित कुल ८५ पदक जित्दै चौथो स्थानमा रह्यो।
२०औँ एसियाडमा नेपालले २१ खेलमा सहभागिता जनाएको थियो। नेपालबाट १३५ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए। तर नेपालले दुईवटा कांस्य पदकमै चित्त बुझाउनुपर्यो।
नेपालका लागि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जिते।
महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियन गेम्समा टिम इभेन्टतर्फ पदक जितेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसअघि १९औँ एसियाडमा पनि महिला कबड्डी टोलीले पदक जितेको थियो।
करातेमा भने नेपालले पदकको अपेक्षा गरे पनि पुरुषतर्फ ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका तेन्जिङ शेर्पाले मात्र कांस्य जित्न सफल भए।
१९औँ एसियाडमा रजत पदक जितेर इतिहास रचेकी कराते खेलाडी एरिका गुरुङबाट यसपटक स्वर्ण पदकको अपेक्षा गरिएको थियो। तर एरिका लगायत अन्य नेपाली कराते खेलाडीले पदक जित्न सकेनन्।
दुई कांस्य पदकसहित नेपाल पदक तालिकामा संयुक्त रूपमा ३६औँ स्थानमा रह्यो। १९औँ एसियन गेम्समा नेपाल ३३औँ स्थानमा रहेको थियो।
यसपटक सहभागी ४५ राष्ट्रमध्ये पाँच राष्ट्र तथा रिफ्युजी टिमले कुनै पनि पदक जित्न सकेनन्। भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमन पदकविहीन रहे।
अब एसियाली खेलकुदको अर्को अध्याय सन् २०३० मा कतारको दोहाबाट सुरु हुनेछ। जापानको नागोयामा सम्पन्न २०औँ एसियाडले एसियाली खेलकुदको अर्को संस्करणका लागि दोहालाई जिम्मेवारी हस्तान्तरण गर्दै चार वर्षपछि पुनः भेट्ने सन्देशसहित बिदाइ लिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij