Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दशैंमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

दशैंमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएम मेसिनमार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्। यस व्यवस्थाले ग्राहकलाई बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वका लागि आवश्यक पर्ने सुकिला तथा सफा नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए।

उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

प्रवक्ता पौडेलले चाडपर्वमा नयाँ नोट वितरण गर्ने परम्परालाई राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि क्रमशः न्यूनीकरण गर्दै आएको बताए। उनले नयाँ नोटको अत्यधिक प्रयोग घटाउँदै सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिने नीति रहेको स्पष्ट पारे।

राष्ट्र बैंकका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा सात खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको छ। दशैंको समयमा मुद्रा चलनचल्तीमा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ।

यस वर्ष भने भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरणबारे विगतमा जस्तो व्यापक प्रचारप्रसार नगर्ने नीति लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार