Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

पथरीशनिश्चरे गोल्डकप : पुलिस क्लब फाइनलमा, उपाधिका लागि झापा ११ सँग भिड्ने

पथरीशनिश्चरे गोल्डकप : पुलिस क्लब फाइनलमा, उपाधिका लागि झापा ११ सँग भिड्ने

नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । मोरङको पथरीशनिश्चरेमा जारी तेस्रो पथरीशनिश्चरे गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

बिहीबार पथरी रंगशालामा भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो।

खेलको २७औँ मिनेटमा सुजन मगरले गोल गर्दै नेपाल पुलिस क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा एनआरटीले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो। खेलको ५३औँ मिनेटमा एनआरटीका आशिष गुरुङले पेनाल्टीमार्फत गोल गरेका हुन्। पुलिसका कप्तान राम बाजीले एनआरटीका शिशिर लेखीलाई पेनाल्टी एरियामा फाउल गरेपछि मुख्य रेफ्री श्याम दनुवारले एनआरटीलाई पेनाल्टी दिएका थिए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकियो र निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा एनआरटीका मिचेल गर्बुजा, सुदीप लामा र आशिष गुरुङले गोल गरे। एनआरटीका कृतिश रत्न छुन्जुको प्रहार पोलमा ठोक्किएको थियो भने विशाल थिङको प्रहार नेपाल पुलिस क्लबका गोलरक्षक अमित टमटाले बचाए।

नेपाल पुलिस क्लबका लागि सुजन मगर, निरज खड्का, दशरथ गिरी र अमित टमटाले गोल गरे। कप्तान राम बाजीको प्रहार भने एनआरटीका गोलरक्षक विशाल सुनारले बचाए। अन्ततः पुलिस क्लबले ४–३ को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिस क्लबका सुजन मगर म्यान अफ द म्याच घोषित भए। उनले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

उपाधिका लागि अब नेपाल पुलिस क्लबले झापा ११ को सामना गर्नेछ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले युकेएफसीलाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

तेस्रो पथरीशनिश्चरे गोल्डकपको उपाधिका लागि झापा ११ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल शनिबार पथरी रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार