नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङस्थित चितुवागाल खेलमैदानमा ‘दोलखा खुला पुरुष फुटबल प्रतियोगिता–२०८३’ बिहीबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले गर्नुभएको हो।
लापिलाङ युवा सञ्जालको आयोजना तथा भीमेश्वर युवा क्लब, कालिञ्चोक–५ को संयुक्त सहकार्यमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री केसीले खेलकुदले युवाहरूबीच आपसी भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जिल्लाभित्र लुकेर रहेका खेल प्रतिभाको पहिचान, विकास र प्रवर्द्धनका लागि यस्ता प्रतियोगिता उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।
मन्त्री केसीले खेलाडीको महत्त्वलाई जोड दिँदै भन्नुभयो, “पहिले खेलाडी भनेको देशको गहना भनिन्थ्यो, अब खेलाडी भनेको देशको गौरव भन्नुपर्छ। किनकि गहना विशेष चाडपर्वमा मात्र लगाइन्छ, तर खेलाडीले देशको पहिचान र गौरव बढाउँछन्।”
कार्यक्रम लापिलाङ युवा सञ्जालका अध्यक्ष एवं प्रतियोगिता संयोजक रमेश थामीको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा दोलखा जिल्ला समन्वय समितिका पूर्व प्रमुख डबल पाण्डे, कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष विनकुमार थामी, स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
थामी समुदायको बाहुल्यता रहेको लापिलाङमा दसैँ–तिहारको अवसर पारेर जिल्लाभित्र तथा देश–विदेशमा रहेका दोलखाली युवालाई एकै ठाउँमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै स्थानीय स्तरमा रहेका फुटबल प्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको छ।
खेल संयोजक प्रकाश थामीका अनुसार प्रतियोगितामा दोलखा जिल्लाका विभिन्न स्थानीय तहबाट २२ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिता सञ्चालनका लागि कालिञ्चोक गाउँपालिकाका साथै देश तथा विदेशका विभिन्न स्थानमा रहेका सहयोगी दाताहरूबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
स्थानीय सहयोगीहरूले स्वैच्छिक रूपमा आर्थिक सहयोग, खेलाडीका लागि जर्सी तथा विभिन्न विधामा प्रायोजन गरेर प्रतियोगिता सञ्चालनमा योगदान पुर्याएका छन्।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ तथा ‘बन्न सक्छ हाम्रो भूमि, सिङ्गो देशको सान, सबै मिली प्रतिभाको, गरौँ पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता आगामी कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनलमा पुग्ने बाँकी दुई टोलीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफी र नगद पुरस्कारसहित सम्मान गरिनेछ। प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीका लागि दर्ता शुल्क पाँच हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।
स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्ने, आपसी एकता र सहकार्य बढाउने तथा दोलखाको खेल प्रतिभालाई जिल्लास्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले लापिलाङको खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij