नेपाल सम्वत् ११४६, कौलागाः २, द्वितिया (११ कार्तिक २०८३, २८ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली गाउँघरको आत्मीयता, मौलिक संस्कृति र तिहारको उल्लासलाई समेटिएको तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। २०८३ सालको तिहारलाई लक्षित गरी सार्वजनिक गरिएको गीतले नेपाली मौलिक संस्कार, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्पराको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ।
पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द र आफ्नै लगानीमा तयार भएको गीत उहाँकै आधिकारिक युट्युब च्यानल Bhim Kumar Ojha Official मार्फत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत रहेको छ। सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलले स्वर दिएको गीतमा नारायण दङ्गालले संगीत संयोजन गरेका छन्। बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुले प्राविधिक योगदान दिएका छन्।
चर्चित कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा स्वयं, उहाँकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काले अभिनय गरेका छन्।
गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनका लागि मात्र तयार गरिएको गीत नभई गाउँघरको सम्झना, नेपालीपनको मिठास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका मौलिक परम्परा र संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउँदै तिनको संरक्षण तथा निरन्तरतामा योगदान पुर्याउनु गीतको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
नेपाली समाजमा तिहार केवल उज्यालो र रमाइलोको पर्व मात्र नभई पारिवारिक आत्मीयता, आपसी सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित छ। घरआँगनमा झिलिमिली बत्ती बाल्ने, देउसी–भैलो खेल्ने, दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परालाई गीतले शब्द, संगीत र दृश्यका माध्यमबाट प्रस्तुत गरेको छ।
विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीलाई जन्मथलो र परिवारको सम्झना गराउने तथा स्वदेशमा रहेका दर्शक–श्रोतामा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति गौरवको भावना जगाउने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक गर्न पाउँदा आफू हृदयदेखि नै हर्षित भएको उल्लेख गर्दै गीतकार ओझाले आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्याउन पाउनु सुखद अनुभूति भएको बताउनुभयो।
नेपाली मौलिकता, गाउँघरको सुन्दरता र पारिवारिक सम्बन्धलाई प्राथमिकतामा राखेर तयार गरिएको ‘गाउँघरै घमाइलो’ ले तिहारको उल्लाससँगै सांस्कृतिक संरक्षण, आपसी सद्भाव र नेपालीपनको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। मनोरञ्जनसँगै मौलिक परम्पराको महत्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य बोकेको यस गीतले तिहारको सांस्कृतिक रौनकलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij