Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

चाडपर्वले बढायो व्यापार, तीन महिनामा साढे ६ खर्बको आयात

चाडपर्वले बढायो व्यापार, तीन महिनामा साढे ६ खर्बको आयात

नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । दसैँ, तिहारलगायतका चाडपर्वका कारण वस्तुको माग बढेसँगै नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो।

गत वर्षको असोजमा एक खर्ब ६२ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष असोजमा मात्रै दुई खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा करिब ६६ प्रतिशतले बढी हो।

कच्चा भटमास तेल सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म सबैभन्दा धेरै ५२ अर्ब ६० करोड रुपैयाँको कच्चा भटमास तेल आयात भएको छ। त्यसपछि ४७ अर्ब ३१ करोड रुपैयाँको डिजेल, २४ अर्ब ६२ करोडको पेट्रोल, २३ अर्ब १८ करोडको एलपी ग्यास र १९ अर्ब ३० करोड रुपैयाँको मल आयात भएको छ।

कच्चा भटमास तेल नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने अवसरका कारण यसको आयात बढेको हो। भारतमा भटमास तेलको माग बढ्नु र साफ्टा व्यापार सुविधाअन्तर्गत निर्यात गर्न पाउने व्यवस्थाले यसको व्यापार विस्तारमा सहयोग पुर्‍याएको छ।

निर्यात ५७ प्रतिशतले बढ्यो

आयातसँगै नेपालको निर्यात व्यापारमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा नेपालबाट एक खर्ब १४ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो।

निर्यात हुने वस्तुमध्ये भटमास तेल पहिलो स्थानमा छ। त्यसपछि गलैँचा, जुट, ठूलो अलैँची र सूर्यमुखी तेल प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।

भारत मुख्य व्यापार साझेदार

नेपालले समीक्षा अवधिमा सबैभन्दा धेरै तीन खर्ब ६६ अर्ब ७८ करोड रुपैयाँको वस्तु भारतबाट आयात गरेको छ। चीनबाट एक खर्ब ३४ अर्ब र अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ।

त्यस्तै, नेपालबाट सबैभन्दा धेरै ९५ अर्ब ५९ करोड रुपैयाँको वस्तु भारतमा निर्यात भएको छ। अमेरिकामा छ अर्ब ९९ करोड, जर्मनीमा एक अर्ब ६० करोड, बेलायतमा एक अर्ब १३ करोड र जापानमा ९२ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ।

आयात र निर्यात दुवैमा भएको वृद्धिले नेपालको वैदेशिक व्यापार विस्तार भइरहेको देखाए पनि आयातको तुलनामा निर्यात कम रहेकाले व्यापार घाटा चुनौतीका रूपमा कायम छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार