नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक प्रयोगमा ल्याइएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) ले बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेललाई थप रोचक बनाएको छ। उक्त खेलमा डीआरएसको सहयोगमा अम्पायरका चार निर्णय उल्टिएका छन्।
खेलको पहिलो ओभरमै सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीको बलमा पोखराका ओपनर महेदी हसन एलबीडब्लू आउट घोषित भए। तर, हसनले डीआरएस लिएपछि बलले विकेट मिस गर्ने देखियो र उनी आउट हुनबाट जोगिए। उनले २१ बलमा ३२ रन बनाए।
तेस्रो ओभरमा दिनेश खरेलविरुद्धको आउटको अपिल अम्पायरले अस्वीकार गरेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले डीआरएस लिए। रिभ्यूमा बल ब्याटको किनारामा लागेर विकेटकिपरको हातमा पुगेको देखिएपछि दिनेश ४ रनमा आउट भए।
त्यसै ओभरमा कुशल भुर्तेललाई हेमन्तको बलमा अम्पायरले एलबीडब्लू आउट दिए। तर, कुशलले डीआरएस लिएपछि बलले विकेट मिस गर्ने देखियो र उनी पनि आउट हुनबाट जोगिए। कुशलले १७ बलमा २१ रन बनाए।
दोस्रो इनिङमा पोखराका शाकिब अल हसनको बलमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनविरुद्ध गरिएको एलबीडब्लूको अपिल अम्पायरले अस्वीकार गरेका थिए। तर, पोखराले डीआरएस लिएपछि रिभ्यूमा म्याकमलेन आउट भएको देखियो र अम्पायरको निर्णय उल्टियो।
नेपाली क्रिकेटमा नयाँ अनुभव
डीआरएसले अम्पायरका निर्णयलाई चुनौती दिने अवसर दिएपछि खेलको निष्पक्षता र प्रतिस्पर्धात्मकता बढाएको छ। डीआरएस नभएको भए हसन र कुशल गोल्डेन डकआउट हुन सक्थे भने दिनेश र म्याकमलेनको आउटसम्बन्धी निर्णय फरक हुन सक्थ्यो।
यद्यपि, पहिलोपटक प्रयोगमा ल्याइएको प्रविधिमा अम्पायरहरू अभ्यस्त हुन बाँकी रहेको पनि देखियो। रिभ्यूका लागि अपिल गर्ने र निर्णय उल्टिएपछि त्यसको संकेत दिने प्रक्रियामा केही अन्योल देखिएको थियो।
खेलपछि सुदूरपश्चिमका खेलाडी इशान पाण्डेले डीआरएसलाई नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताए। उनका अनुसार यस प्रविधिले गलत निर्णयका कारण ब्याटर वा बलरले भोग्नुपर्ने अन्याय कम गर्न सहयोग पुर्याउँछ।
एनपीएलमा डीआरएसको प्रयोगले नेपाली क्रिकेटलाई प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij