Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

नेपाल सम्वत् ११४६, कौलागाः ७, सप्तमी (१५ कार्तिक २०८३, १ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।

हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले प्रतियोगितामा हालसम्म खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ११३ रनमै समेटिएको थियो।

तर, दोस्रो खेलमा जनकपुरले उत्कृष्ट पुनरागमन गर्दै काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट मात्र गुमाएर पूरा गरेको थियो। दोस्रो खेलको जितले उत्साहित जनकपुर आज पनि सोही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ।

यता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। आफ्नो पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। उक्त खेलमा पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो। अर्जुन घर्तीले अविजित ४० रनको योगदान दिएका थिए।

तर, पोखराले दिएको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। पहिलो खेलको हार बिर्साउँदै पोखरा आज जित निकाल्ने योजनामा हुनेछ।

अन्तर्राष्ट्रिय खेलाडीमा नजर

दुवै टोलीमा रहेका अनुभवी तथा चर्चित अन्तर्राष्ट्रिय खेलाडीका कारण आजको खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। जनकपुर र पोखराका खेलाडीले ब्याटिङ, बलिङ तथा फिल्डिङमा कस्तो प्रदर्शन गर्छन् भन्ने विषयले खेलको नतिजामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले प्रतियोगिताप्रति दर्शकको आकर्षण बढाएको छ।

जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ। त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो अवस्था सुधार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

वर्षाले प्रभावित भयो अघिल्लो खेल

यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो। वर्षाका कारण उक्त खेल पाँच ओभरमा छोट्याइएको थियो।

त्यस्तै, चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका थिए।

प्रतियोगितामा वर्षाले खेलतालिकालाई समेत प्रभावित पारिरहेका बेला आज जनकपुर र पोखराबीचको प्रतिस्पर्धाले दर्शकलाई रोमाञ्चक क्रिकेटको अनुभव दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार