जाडोयाम सुरु भएसँगै मुस्ताङका उच्च हिमाली चरन क्षेत्रबाट याकचौँरीका गोठ बेँसीतर्फ सार्न थालिएको छ ।
नेपाल सम्वत् ११४७, कौलागाः १३, त्रयोदशी (२१ कार्तिक २०८३, ७ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । जाडोयाम सुरु भएसँगै मुस्ताङका उच्च हिमाली चरन क्षेत्रबाट याकचौँरीका गोठ बेँसीतर्फ सार्न थालिएको छ । उच्च लेकमा हिमपात हुन थालेपछि घाँस र पानीका मुहानमा कमी आउनुका साथै अत्यधिक चिसो बढेकाले पशुचौपायालाई न्यानो स्थानमा सार्न थालिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रअन्तर्गत निलगिरि हिमालको फेदीमा रहेको मार्चे, धौलागिरि हिमालको फेदीमा रहेको मूलिखर्क र बतासे खर्कका घुम्ती गोठ खाली हुन थालेका छन् । चौरीपालक कृषक सोजन हिराचनका अनुसार उच्च लेकमा रहेका याकचौँरीलाई अहिले बस्ती नजिकका खर्क तथा गोठमा झार्न थालिएको हो ।
याकचौँरी कृषक महासङ्घका केन्द्रीय सचिवसमेत रहनुभएका हिराचनका अनुसार गर्मीयाममा समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका धौलागिरि, निलगिरि र टुकुचे हिमालका फेदीमा रहेका चरन क्षेत्रमा याकचौँरी चराउने गरिन्छ । जाडो सुरु भएपछि भने तल्लो भेगका चरन क्षेत्रमा सार्ने परम्परा छ ।
“अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी (लेक) फर्काइन्छ । बेँसी नजिकका चरन क्षेत्रमा पनि घाँसको अभाव छ,” उहाँले भन्नुभयो ।
मुस्ताङका याकचौँरीपालक कृषकले वर्षको करिब आठ महिना लेक र चार महिना बेँसीका खर्कमा गोठ राख्ने गरेका छन् । मङ्सिरदेखि फागुनसम्म जिल्लाको तापक्रम शून्यभन्दा तल झर्ने भएकाले पशुचौपायालाई चिसोबाट जोगाउन बस्ती नजिकका न्यानो गोठमा राख्ने गरिन्छ ।
मुस्ताङमा सबैभन्दा बढी याकचौँरी थासाङ गाउँपालिकामा रहेका छन् । त्यहाँका २७ गोठमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी रहेको हिराचनले जानकारी दिनुभयो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा गरी करिब चार हजार दुई सय याकचौँरी छन् ।
कार्यालयका अनुसार थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रमा ३९ वटा तथा उपल्लो मुस्ताङका लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा २३ वटा गोठ रहेका छन् ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जाडोयाम पशुचौपायाका लागि पनि कठिन हुने भएकाले उच्च लेकबाट बस्ती क्षेत्रका न्यानो गोठमा सार्ने गरिएको बताउनुभयो ।
“चिसो हावापानी याकचौँरीका लागि अनुकूल भए पनि हिमपातसँगै उच्च लेकमा चरनको अभाव हुन्छ । वन्यजन्तुको जोखिमसमेत हुने भएकाले बस्ती नजिक ल्याउने गरिन्छ,” उहाँले भन्नुभयो ।
याकचौँरीसँगै माथिल्लो क्षेत्रमा पालिने च्याङ्ग्रालाई पनि कठोर हावापानी र माइनस तापक्रमका कारण चरन क्षेत्रबाट बस्तीभित्रका गोठमा ल्याउने गरिन्छ । माथिल्लो र तल्लो मुस्ताङका चौरीपालक कृषकले समुद्री सतहदेखि करिब पाँच हजार पाँच सय मिटर उचाइसम्मका क्षेत्रमा चरन व्यवस्थापन गर्दै आएका छन् ।
अत्यधिक चिसोका कारण गोठालालाई समेत लेक लाग्ने जोखिम हुने भएकाले अनुकूल हावापानी भएका स्थानमा अस्थायी गोठ बनाएर पशुचौपाया राख्ने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिले जनाएको छ ।
बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने भएकाले याकचौँरीका लागि चरन सहज हुने गर्छ । यस समयमा गोठालालाई पनि पशु व्यवस्थापन गर्न सजिलो हुन्छ । जिल्लाका स्थानीय तहले बेँसी क्षेत्रमा पर्याप्त चरनको व्यवस्था तथा पशु उपचार सेवालाई प्राथमिकता दिँदै आएका छन् ।
मुस्ताङमा एउटा वयस्क याकको मूल्य दुई लाख रुपियाँसम्म पर्ने गरेको छ । याकचौँरीले चरनका क्रममा यार्सागुम्बा, पाँचऔँले, निरमसी, जटामसी, सतुवा, जिम्बु र वनलसुनलगायतका वनस्पति खाने गर्छन् । याकचौँरीपालन यहाँका स्थानीय कृषकको परम्परागत पेसा र जीविकोपार्जनको महत्त्वपूर्ण आधार बनेको छ ।
जिल्लाका पाँचवटै स्थानीय तहका याकचौँरीपालन व्यवसायीको हकहित संरक्षण तथा पेसाको प्रवर्द्धन गर्ने उद्देश्यले २०७६ सालमा हिमालयन याकचौँरीपालन तथा संरक्षण व्यवस्थापन समिति गठन गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij