समाजसेवी, सकुना श्रेष्ठ

ऐतिहासिक शहर दोलखाको मच्छिन्द्रनाथ रथयात्राको चर्चा चल्ने बित्तिकै ललितपुरको रातो मच्छिन्द्रनाथ र काठमाण्डौंको सेतो मच्छिन्द्रनाथको रथयात्राको जात्रा संग जोडिएको हुन्छ । काठमाण्डौं र ललितपुरमा जस्तै ऐतिहासिक शहर दोलखामा पनि प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्रा मनाउने गरिन्छ । भौगोलिक जटिलताका बाबजुद पनि सानो सुन्दर ऐतिहासिक नेवारी बस्ती रहेको दोलखा शहरमा वि.सं. १५०५ देखि नै मच्छिन्द्रनाथको रथयात्रा शुरुभएको भन्ने अभिलेखहरुमा रहेको पाईन्छ ।
विशेषतः बौद्ध धर्मावलम्बी अनी हिन्दुहरुले पूजिने मच्छिन्द्रनाथको रथजात्रा दोलखा शहरमा ९ दिनसम्म मनाउने चलन रहेको छ । मच्छिन्द्रनाथको मूर्तिलाई पहिलो दिन चैत्र पूर्णिमामा ड्वाकुलुङा टोलमा रहेको मच्छिन्द्रनाथको मन्दिरमा दूधबाट स्नान गराई त्यसको भोलिपल्ट पिङ्गलटोलमा निर्मित रथमा राखिन्छ । यसरी सं–संगै सात दिनसम्म मच्छिन्द्रनाथको रथलाई दोलखा शहरमा परिक्रमा गराइन्छ । पिङ्गलटोलबाट नक्छेटोल, नक्छेटोलबाट कोर्छेटोल, कोर्छेटोलबाट टसिचा टोल, टसिचा टोलबाट माथिल्लो टोल, माथिल्लो टोलबाट दुङ्गल टोल र दुङ्गलटोलबाट पिङ्गल टोल पु¥याएपछि त्यसको भोलिपल्ट पिङ्गलटोलबाट ड्वाकुलुङा टोलमा रहेको मच्छिन्द्रनाथ मन्दिरमा मच्छिन्द्रनाथलाई भित्र्याएपछि त्यस वर्षको रथयात्रा समापन हुने परम्परा रही आएको छ ।
यसै गरी यसपाली हिजो १४ गते दुधमा स्नान अर्थात दोलखाली नेवारी भाषामा दुधुकु ठुङ पुनिसको नामले प्रख्यात रहेको छ । यसरी दुधले स्नान गर्ने अवसरमा स्थानिय महिला दिदीबहिनीहरु बाट ब्रत लिने गरिन्छ । त्यसै गरी आज १५ गते भीमेश्वर नगरपालीका वडा न. २ डोकलुङा टोलबाट पिङ्गल टोलमा लगि रथमा हाल्ने र पर्सि १६ गतेबाट यसपालीको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुर्दै नौदिनसम्म मनाईने चलन रहेको छ ।
तर गतबर्ष कोविड १९ को संक्रमणबाट नेपाली जनतालाई बचाउन नेपाल सरकार मन्त्रि परिषद्को निर्णयले बन्दाबन्दी गरिएको कारणले बिधि मात्र गरी रथजात्रा सम्पन्न गरिएको थियो । यसै गरी फेरी यसपाली कोविड १९ दोश्रोको संक्रमणबाट नेपाली जनतालाई बचाउन नेपाल सरकार मन्त्रीमण्डलको निर्णयले उपत्यकाका तिनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार १६ गतेदेखि बैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञाको सुचना जारी गरिएको छ । त्यसैले यसपाली पनी हिजो दोलखामा मच्छिन्द्रनाथको मुिर्तलाई दुधले स्नान गर्ने कार्य त सम्पन्न भएको छ । यसै गरी यसपाली पनी रथजात्रा संचालन नगर्ने भएको छ ।
मच्छिन्द्रनाथको रथजात्राको ऐतिहासिकता :
नेपालमा राजा नरेन्द्रदेवका पालामा खडेरी परी जनताले दुःख पाएकाले विद्वान् पण्डितहरूको सल्लाह अनुसार कलिगत वर्ष ३६७३ वि.सं. ६३२ मा कामरुप पीठ आसाम (भारत) बाट मच्छिन्द्रनाथ (मत्स्यन्द्रनाथ) लाई ल्याई ललिपुर जिल्ला ललितपुर उप महानगरपालीका वडा नं. २२ स्थित बुङ्गमतीमा स्थापना गरेको भन्ने भनाई छ ।
यस करूणामय लोककल्याणकारी अवलोकितेश्वर मच्छिन्द्रनाथको भगवानले नेपालमा प्रवेश पाएको ९४३ वर्षपछि अर्थात् वि.सं. १५७५ मा द्वाल्खा अभयपुरमा प्रवेश पाएको ऐतिहासिकता रहेको छ । यसरी वैशाख सुदी १७ शुक्ल पक्ष त्रयोदशी सोमबारका दिन दोलखा शहरको ड्वाकलुङा टोल दोलखामा मन्दिर बनाई शास्त्रीय विधिपूर्वक स्थापना भएको भन्ने अभिलेखबाट देखिन्छ ।
यस भगवानलाई साक्षात् भगवान मानिन्छ । २०२९ सालमा भगवानको मुर्ति हराएको थियो । उक्त हराएको मुर्ती डोक्छें टोल स्थित भीम पुस्तकालयको कार्यालय अगाडी रहेको राजलाल श्रेष्ठ बजैको करेसाबारीमा मैले भेटाएको थिए । जतीबेला म ८ बर्ष उमेरकी थिए । यसरी भेटाएको मुर्ति मेरो आमाको सहयोगमा पञ्च भलाद्मीलाई बुझायौं । यसरी बुझाउँदा यो त हराएको भगवानको मुर्ति हो भनी पहिचान गरी मन्दिरमा ल्याई फेरी स्थापना गरे ।
यसरी साक्षात भगवान भएको कारणले गर्दा एकचोटी हराएर पनी फर्किन्न सफल भई दोलखाको मच्छिन्द्रनाथको रथजात्राले हालसम्म निरन्तरता पाएको छ । यसमा हामी सम्पूर्ण दोलखावासी र भक्तजनहरुले गौरवता गर्नु पर्छ ।
मैले उक्त साक्षात दोलखाको मच्छिन्द्रनाथको रथको मुर्ति भेटाएको कारणले गर्दा हालसम्म मैले मनले चिताएको ईच्छाहरु र फल प्राप्त भएको छ । यसकारणले दोलखाको मच्छिन्द्रनाथको रथजात्राको साक्षात भगवानको हामी सम्पूर्ण दोलखावासी र भक्तजनहरुले संरक्षण गर्नुका साथै जात्रापर्वको निरन्तरता दिनु पर्छ भन्नेमा मेरो यहाँहरु सम्पूर्णमा आग्रह तथा विनम्र अनुरोध रहेको छ । साथै यस कार्यको लागि मेरो तर्फबाट हुन सक्ने र गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत यसै आलेखबाट व्यक्त गर्न चाहन्छु ।
जय करूणामय लोककल्याणकारी अवलोकितेश्वर दोलखा मच्छिन्द्रनाथले हामी सबैको कल्याण गरुण ।।।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij