
आजको दिन नेपाल राज्यभर नै विशेष उल्लासमय दिन हो । असारे मौसम र घुलमिल वातावरणमा यो बेला कतै उत्साह कतै उमंग छाएर रोपाइँको क्षणले मनलाई एकत्रित बनाउने यो घडीमा दिल खोलेरै दही चिउरा खाने र खुवाउने प्रचलन केही दशक अगाडिसम्म दोलखामा एक दुइ घरमा सीमित भएको थियो । तर अहिले दही चिउराको यथार्थ बुझेर हरेक घरका परिवार रमाएर मनाउन थालेका छन् ।
यो बेला विगतका दोलखालाई नियाल्दा बेफुर्सद, असारे चटारोले यो दही चिउरा खाएर रमाउन नि समय निकाल्नुपर्ने, हतारहतार फेरमि (सामुहिक खेताला)को व्यवस्था मिलाउनुपर्ने, खेतमा पानीको अवस्थालाई बुझ्न दौडधुप गर्नुपर्ने, रोपाहार, हली, आली, बाउसे सबैलाई समेटेर निर्धारित समयमा खेतमा पुगेर रोपाइँ सम्पन्न गर्नका लागि तडकभडकताका साथ लाग्नुपर्ने भएकोले दही चिउरा त प्रसादको रूपमा मुखमा हालेर कुदि हाल्नुपर्ने अवस्था थियो त्यो बेला ।

अहिले त्यो अवस्था रहेन, किनकि समयले मानिसहरूलाई यसरी बदलिदियो कि अहिले पैसा छ त सबथोक छ, पैसा छैन त केही छैन बनाएको छ । मानो रोपेर मूरी उब्जाउने पुरानो कथन दोलखाको लागि उल्टो हुन पुगेको छ । किनकि अहिलेको अवस्थामा मूरी रोपेर मानो उब्जाउन पनि मुश्किल परिरहेको छ । न खेताला पाईन्छ, न भनेजस्तो मल, एकाघरका मान्छेहरू मिलेर पनि खेतका गह्रामा पाइलो हाल्न हम्मेहम्मे परिरहेको अवस्था छ । खेतालालाई ज्याला, भारी महँगो मल, सिँचाइको अभाव, आकासे झरीको भर यी आदि ईत्यादि कारणले अधिकांश खेतीयोग्य जमीन बाँझो भएको हेर्न बाध्य भएको छ दोलखा ।
शिक्षाको विकास त भयो नै, हरेक घरमा शिक्षा हासिल नगर्ने मान्छे छैनन्, तर शिक्षाको विकासले अझ उच्च ज्ञान र शिक्षा हासिल गर्ने क्रममा परदेश, विदेश गएर अध्ययन गर्ने सिलसिलामा बाहिर नै रहनुपर्ने भएकोले पनि घरबारीको काम गर्ने ज्यामीको अभावले कृषि क्षेत्रमा हुने मेला र भेला लगभग सकिंदै गएको छ ।
अनि खेतमा गएर हिलामा खेल्दै दही चिउरा चपाउँदै रोपाइँ गर्ने दृश्य देख्न पनि कठिन भएको यो अवस्थामा रोपाइँ दिवसको मन्त्र उच्चारण गर्नपनि असहज लाग्न थालेको छ । यद्यपि रोपाइँ ठाउँ ठाउँमा निरन्तर चलिरहेकोले नेपाल कृषि प्रधान देश भनेर कहलाउन पाइएकोमा गर्व गर्नैपर्ने हुन्छ ।

यसै गरी दोलखा जिल्लाको प्राचिन शहर भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको द्वाल्खा शहरको दक्षिण, पूर्व र पश्चिमसम्म फैलिएको खेतका फाँटहरूमा चउँल्सा (बाँझो जोत्ने), मिल्सा (पाटो सम्याउने फल्याक) पुल्चतउ (आली), चोखो ज्ये (बाउसे), दुक्वार (कुनो सम्याउने) र या पिउ (रोपाहार) को शाब्दिक पर्यायलाई थाती राखेको छैन, मानोबाट मूरी नै फलाउन नसके पनि आफ्नो कर्मलाई निरन्तरता दिने कर्मयोगी दाजुभाइ तथा दिदीबहिनीहरू प्रति गर्वले सलाम ठोक्नैपर्छ ।
दोलखामा यो असार १५ गते पछाडि दक्षिणपूर्वी भेकमा धान रोपाइँ गर्ने चलन रहेको छ, जस्तो कि गाँबु, गगरबुँ, फिबुँ, नित्पुल, ओत्क, चापती, परपुल आदि खेतहरूमा आफ्नो क्रमानुसार रोपाइँ गर्ने गरिन्छ । जुन खेतमा जसको पालो हो त्यही खेतको धनीले दही चिउरा खुवाउने परम्परा छ । यसबेला अर्थात् दोलखाको रोपाइँमा खुवाइने प्रचलित खानेकुरामा ‘म्वार्टुली’ (भटमासको झोल) ले प्रसिद्धता पाएको छ ।

यो म्वार्टुली भटमासलाई तीनचार दिन अगाडि नै पानीमा भिजाएर राख्ने गरिन्छ । अनि टुसा पलाएर आउँछ, त्यही टुसा सहितको भटमासलाई विभिन्न मसला हालेर पकाइन्छ । यो पकाउँदा भटमासको गेडा भन्दा बढी झोल पिइन्छ । दोलखाको नेवार जातिले बोलिने मातृभाषा नेवारी भाषाको हिसाबमा ‘म्वार’ भनेको भटमास हो, ‘टुली’ भनेको टुसा हो ।
त्यसैले यस परिकारलाई म्वारटुली भनिए पनि बोलीचालीमा म्वार्टुली भनिएको हो । यही असारको कुरा गर्नुपर्दा दोलखामा फेरप्रथा छ । जुनकुरा गतवर्षको बाँपिझ्याला समाचारमा आजैको दिन सम्प्रेषण गरिसकेका छौँ ।
अब अन्तमा यसवर्षको रोपाइँ सबैकालागि फलदायी बनोस्, सबैमा सद्भाव कायम रहोस्, हिलो खेलेर मनोरञ्जन गर्ने क्रममा आफ्नो मर्यादा र अनुशासनलाई ख्याल राखियोस्, सबैले दही चिउरा बाँडीचुडी खाएर आजको रोपाइँ दिवस भव्यताका साथ मनाऔँ । जय दोलखा ! जय भीमसेन !
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij