

बहिनी नमस्ते ! के छ सञ्चै हुनु हुन्छ नि ?
स्याउदाइ (ढोग गरें) दाइ ! अँ दाइ हजुरहरूको आशिर्वादले र दोलखा भीमेश्वर, त्रिपुरा सुन्दरी माता र कालिन्चोक माताको कृपाले आराम छु हजुर ।
अनि दिनचर्या कस्तो छ ? घर परिवार सबैमा कुशल मंगलै छ नि ?
हजुर सबैलाई आराम कुशल नै छ दाई । बरु दाइहरूलाई कस्तो छ ?
हामीलाई नै ठिकै छ राम्रै छ । अनि बहिनीको पसल त पहिले अन्तै थियो होइन र ?
हो दाई पहिले लाजिम्पाटमा साथीसंग मिलेर चलाएका थिए । तर घर यता पसल उता हुँदा आउनजान कठिनाइ भएकोले म चाहिँ साथीबाट अलग भएर यता आएकी हुँ तर साथीसंगको मित्रताबाट टाढिएकी चाहिँ होइन ।
अनि तपाईं त सामाजिक सेवामा पनि आवद्ध भएको देखिएको छ, अहिले यताउता कतै कुनै कार्यक्रममा देखिइन्न, किन होला ?
हो दाइ, सही भन्नु भो, हिजोआज म हाम्रै कक्षाका साथीहरूको समूहमा बाहेक अन्यत्र सहभागी हुन छोडिदिएँ । (अलिक दिक्क भावमा भन्न थालिन्) एकै परिवार जस्तो भएर कति आनन्दले बसेर नाम चलाएर लोकप्रिय भैसकेको संस्थालाई उथलपुथल पारेर एकपछि अर्को अर्को पछि अर्को गर्दै चहार्नेहरूको भीडमा बस्न मन मानेन त्यसैले म टाढिएकी हुँ ।
कस्तो कुन प्रसङ्गमा के भन्न खोजेकी प्रष्ट पारी दिनु भए राम्रो ?
सामाजिक सेवा गर्न मन छ भने पद चाहिँदैन नि, पदको लागि हाँगाहरू खोतल्दै जानु उचित लागेन, यदि आपूmमा दक्षता छ, ज्ञान छ । सीप छ र तौरतरिका छ भने भैराखेको संघ संस्थालाई दिगो राख्नको लागि पहल गर्न सक्नु प¥यौ । के गर्दा समाजको उत्थान हुन्छ ? कस्तो गर्दा संस्थाले सामाजिक कल्याण हुन्छ भनेर सोच्ने दिमाग हुनुपर्यो नि आपूmलाई अलिकति विरोध गर्यो कि आफ्नो पक्षका मान्छे खोजी खोजी पदमा राख्ने अनि त्यही पद पाएन भने अर्कै समूह बटुलेर हिँड्ने यस्तो पनि समाजसेवी हुन्छ त ? त्यसै गरी संघ–संस्थाको नेतृत्व लिएर अगाडी बढ्नेहरुबाट पनी सवैसँग समन्वय गरेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ ।
कुरा सही हो बहिनी, तर यहाँ च्याउ उम्रे भैंm उम्रेका सामाजिक संस्थाहरू छन् एउटै समुदायमा पनि अनेक नामका संस्थाहरू खोलिएका छन्, काम खासै केही देखिएको छैन, यसबारेमा तपाईंको के धारणा छ त ?
त्यही त भन्दैछु । यो सब देखासेकी मात्रै हो । समुदाय एउटै हो । समाज एकै खालको छ तर सबैमा पदको लालच, घमण्ड र अहंताको जरा फैलिएको कारणले नै यहाँ सबै तल परेका छन् । पदको लागि खुट्टा मोल्ने र एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिको हाबि भएको छ । एकै आँगनका सन्तान भएपछि एक ढिका भएर सबैले जे सकिन्छ त्यसैमा हार गुहार गरेर अघि बढ्नुपर्ने हो त्यो देखिदैन । यहाँ त सल्लाह सुझाव दिन गएपनि मान्छे भाँड्न आयो भन्ने हल्ला चलिहाल्छ । अनि कसरी समाजको विकास हुन्छ त ? त्यही भएर दाइ म हाम्रो समूह बाहेक अन्य कुनै समूह र संस्थामा रहन चाहिन । हामी चेली हौं माइतको माया अथाह छ । तर माइती खलक भित्रका आफन्त साथीभाइ दिदीबहिनी बिचमा मनमुटाव र किचलोका कुराहरू चेलीका घरवालाले थाहा पाए भने कसलाई असर पर्छ त ? दाइ आपैm भन्नुस् त ! यो कुरा हामी म्यासमुचाहरुले थाहा पाउनु पर्छ जस्तो लाग्छ । (अमिको प्रश्नको जवाफ दिन मलाई नै कठिन भएको आभाष भयो । तैपनि प्रसंग मोड्दै भनें)

हो त, यो हुनु दुःख लाग्दो कुरा हो, अब प्रसंग दोलखा माइतघर तर्फ लागौं, जन्म घरको कत्तिको सम्झना आउँछ त ?
जन्मघरको त कुरै नगर्नु दाइ, जन्म दिने बाबुआमा त्यो धरातलमा नभए पनि अहोरात्र त्यही आँगन, त्यही करेसा बारी, त्यही डबली र त्यही तीनधाराकै वरिपरि यो मन डुलिरहेको महशुस हुन्छ । आफ्नो बुबाआमा यस लोकमा हुनुहुन्न तैपनि अहिलेको मेरो घरको परिवार नै त्यही घरको दलान, मझेरीतिर रुमल्लिरहेको छ जस्तो लाग्छ । यदि त्यो ठाउँमा जीविकोपार्जन गर्न मिल्ने कुनै आधार भै दिएको भए म त त्यही माइतघरकै सेरोफेरोमा बस्न जान्थें तर के गर्ने ?
धेरै खुशी लाग्यो बहिनी । आफ्नो जन्मघर प्रति अथाह माया र सद्भाव व्यक्त गरेकोमा, अब तीजको गीतको रौनकताले बजार उल्लासमय बनेको छ, बहिनीलाई यो तीज प्रति के कस्तो लाग्छ ?
उम्.. मेरो सोचाइमा चाहिँ यो तीज पनि नेपालीहरूकै विशेष महत्वपूर्ण चाड मध्येको एक हो । यो कुनै जातिय विशेषले मात्र मान्नुपर्छ भन्ने छैन । एउटा कुरा चाहिँ मलाई के लाग्छ भने यो चाड भनेको बाहुन क्षेत्रीको मात्रै हो भन्ने संकीर्ण सोच राख्नुहुन्न, त्यसो हो भने हाम्रो क्वाँटी पूर्णिमालाई जनै पूर्णिमाको रुपमा पनि मानिन्छ र रक्षाबन्धन पनि भनेर राखी बाँध्ने पनि गर्छन् अब त्यो राखी चाहिँ जो कोहीले पनि बाँध्न हुने मिल्ने रे अनि नेवार जातिले चाहिँ तीज मान्नै नहुने भन्ने छ र ? हामी नेवारहरूले कुनै कार्यक्रम गर्दा समैबजी, सगुन खुवाउने चलन चलाउँदा सबैलाई खुवाउँछौं भने बाहुन क्षेत्री भित्रका साथी भाइ बहिनीले तीजको कार्यक्रममा आमन्त्रण गर्दा म नेवार हुँ भनेर पन्छिनु उपयुक्त हँदैन दाइ । तर अहिले तिजको नाममा यताकता अस्वभाविक नृत्यहरु प्रस्तुत गरको सामाजिक सञ्जालहरुमा देखिन्न आएको छ यो चाही राम्रो होईन र समाजमा यसले राम्रो सन्देश दिदैन त्यसैले यस्तो क्रियाकलाप बन्द गरी सामान्य नाचगान र खानपिनमा साथीसंगीहरु रमाएर तिजको कार्यक्रम गर्नु पर्छ ।

एकदम सही र सटीक कुरा गर्यौ बहिनी । हामीमा नेपालीपन हुनुपर्यो, साम्प्रदायिक भावना हुनु भएन, आफ्नो जातिय पहिचान आफ्नो ठाउँमा छँदैछ,… होइन र ?
त्यही त, आफ्नो देश भन्दा बाहिरका धर्म चाहिँ यही देशमा हुलेर मान्न हुने रे, आफ्नै घरको आँगनका छिमेकीमा चलि आएको रीतिरिवाज चाहिँ मान्न नमिल्ने कस्तो विडम्बना ! एउटा कुरा दाई, हाम्रो समाजका मान्छेहरू विदेशका क्रिसमस, भ्यालेन्टाइन, न्यु एअर चाहिँ रातभर नसुतीकन मनाउनेलाइृ चाहिँ २१औं शताब्दीको उदाहरण दिने, वल्लो घर र पल्लो घरको चाडपर्व चाहिँ हाम्रो होइन भनेर पन्छिनु गलत हो जस्तो लाग्छ मलाई त, त्यही भएर हामी नेपाली हौं भनेर सबैले मनन गर्ने बानी बसाल्न जान्नपर्छ ।
ल बहिनी, अति नै सही र समय सापेक्ष कुरा राखेर आत्मीय आफ्नो अभिव्यक्त दिएकोमा हृदयदेखि आभार व्यक्त गर्दे अन्तमा हाम्रो बाँपिझ्याला मिडियाबाट माइतीघर लगायत माइतीघरका आफन्तजनलाई के सन्देश छ की ?
सबैभन्दा पहिले यहाँसम्म आइदिनुभएर मेरो मनमा लागेका केही कुरा राख्ने अवसर दिनु भएकोमा उपेन्द्र दाइ र बालकृष्ण दाइ दुवैजना प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । अनि यस बाँपिझ्याला मिडियाका सबै परिवारलाई धन्यवाद । यस बाँपिझ्याला मिडियाले दोलखाको नेवारी मातृभाषाको संरक्षण र संस्कृति संचालनको लागि सहयोगी अभियानमा जुन कदम चाल्नु भएको छ, त्यो उच्च शिखरमा पुगोस् र दोलखामा भैरहेको परम्परागत जात्रा पर्व निरन्तर चलाइ राख्नमा यो मिडियाले दह्रो पायला चाल्न सकोस् यही शुभकामना छ ।
धेरै धेरै धन्यवाद ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij