
नेपाल सम्वत् ११४४ तछलागाः ९, (२०८१ असार १६) आइतबार, बाँपिझ्याला । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको फेद रानीसैनमा टेलिफोन सेवा संचालनमा ल्याएको छ । देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कम्पनीले हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो ।

बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिव चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए । यो भन्दा पहिले करिव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए ।
सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij