नेपाल सम्वत् ११४५, दिल्लागाः ४, चर्तुर्थी, (३० अषाढ, २०८२, १४ जुलाई, २०२५) सोमबार, बाँपीझ्याला । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर तीव्र रूपमा सर्दै गएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले सेवा विस्तारमा जोड दिँदै भरपर्दो र तीव्र गतिको इन्टरनेट उपलब्ध गराएसँगै सेवाग्राहीहरु फिक्स्ड ब्रोडब्याण्डतिर आकर्षित भएको तथ्यांकले देखाउँछ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांअनुसार जेठ मसान्तस नेपालमा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ३१ लाख ६८ हजार नाघेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ लाखले बढी हो । यो तथ्यांकले गत एक वर्षमा मात्रै ३ लाख नेपालीले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको लाइन जडान गरेको देखाउँछ । प्राधिकरणले एक कनेक्सनलाई औसतमा ४.३७ प्रयोगकर्तासँग गुणन गरेर वास्तविक प्रयोगकर्ताको संख्या निकाल्ने गर्छ, जसले फिक्स्ड ब्रोडब्याण्डको वास्तविक प्रयोगकर्ता निकालिने गर्छ ।
यता मोबाइल ब्रोडब्याण्डको प्रयोगकर्ता संख्या भने घट्दो क्रममा छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ६३ लाख ५२ हजार छन् । यो गत वर्षको तुलनामा करिब ३८ लाखले कम हो । गत वर्ष जेठसम्म मोबाइल ब्रोडब्याण्डको बजार हिस्सा ९१.५० प्रतिशत थियो भने फिक्स्ड ब्रोडब्याण्डको हिस्सा केवल ८.४८ प्रतिशत थियो । तर, यो वर्ष यो अनुपातमा उल्लेख्य परिवर्तन आएको छ ।
फिक्स्ड ब्रोडब्याण्डको हिस्सा १०.७५ प्रतिशत पुग्दा मोबाइल ब्रोडब्याण्डको हिस्सा ८९.१५ प्रतिशतमा झरेको छ । यो तथ्यांकले नेपाली उपभोक्ताहरू स्थिर, भरपर्दो र तीव्र गतिको इन्टरनेटका लागि फिक्स्ड ब्रोडब्याण्डप्रति आकर्षित भएको देखाउँछ । यद्यपि यस्तो परिवर्तन हुँदाहुँदै पनि नेपालका प्रमुख दूरसञ्चार सेवाप्रदायकहरू, विशेषगरी नेपाल टेलिकम र एनसेल, यो परिवर्तनसँगै अघि बढ्न नसकेको देखिन्छ ।
नेपाल टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवा ल्याएर फिक्स्ड ब्रोडब्याण्डमा हात हालेको भएपनि त्यसलाई प्रभावकारी रूपमा विस्तार गर्न र प्रयोगकर्ता बढाउन नसकेको अवस्था छ । गत वर्ष जेठमा ३ लाख ५ हजार रहेका एफटीटीएच प्रयोगकर्ता यो वर्ष जेठ मसान्तसम्म केवल २१ हजारले बढेर ३ लाख २६ हजार पुगेका छन् ।
नेपाल टेलिकम र एनसेलले लगातार आम्दानी र नाफामा कमी आएको गुनासो गरिरहे पनि समयानुकुल सेवा प्रवाहमा भने उदासीनता देखाउँदै आएका छन् । नेपाल टेलिकमको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोडमा झरेको छ ।
यो गत वर्ष ५ अर्ब ५३ करोड थियो । आम्दानी र नाफा घट्नुमा ओटीटी (ओभर द टप) सेवाहरूको बढ्दो प्रयोग, अन्तरराष्ट्रिय कलको आम्दानीमा २२.३७ प्रतिशतको कमी, जीएसएम अनुमतिपत्र नवीकरणका लागि २० अर्बको एकमुष्ट भुक्तानी, र लगानीको ब्याजदरमा कमी जस्ता कुराहरु उल्लेख गरिएपनि टेलिकमको खास कमजोरी नै सेवा विस्तारमा देखिन्छ ।
नेपाल टेलिकमले ४जी/एलटीई सेवालाई ७७ जिल्ला र ७२० स्थानीय तहमा विस्तार गरेको बताएपनि सोही अनुसार गुणस्तरीय सेवा दिन नसकिरहेको सेवाग्राहीहरु बताउँदै आएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij