Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

ग्यान्समा नयाँ नेतृत्व चयन, सपना राउत महिला उपाध्यक्ष निर्वाचित

ग्यान्समा नयाँ नेतृत्व चयन, सपना राउत महिला उपाध्यक्ष निर्वाचित

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) मंगलबार, बाँपिझ्याला । अमेरिकामा सक्रिय नेपाली समुदायको संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को २०२६ कार्यसमिति तथा बोर्ड अफ ट्रष्टी निर्वाचन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन भएको छ। यस निर्वाचनमा विभिन्न पदहरूमा प्रतिस्पर्धात्मक मतपरिणाम सार्वजनिक भएका छन्।

महिला उपाध्यक्ष पदमा दोलखा, भीमेश्वर नगरपालिका–३ की सपना राउत ४२७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँ लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आउनुभएको र नेपाली समुदायका सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।

यस निर्वाचनलाई ग्यान्सको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र चर्चित निर्वाचनमध्ये एकका रूपमा हेरिएको छ। निर्वाचन समितिका अनुसार करिब ९ सय मत खसेको थियो, जसले संस्थाप्रति समुदायको बढ्दो सहभागिता र चासोलाई देखाएको छ।

अध्यक्ष पदमा पदम ठकुराठी ४७७ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रामकुमार महतोले ३४० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाही ४२१ मतसहित, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मतसहित विजयी हुनुभएको छ।

महासचिव पदमा सूर्य कार्की ४४५ मतसहित निर्वाचित हुनुभएको छ भने सचिवमा प्रिन्स भट्ट (बसन्त राज) र कोषाध्यक्षमा नारायण प्रसाद रिजाल विजयी हुनुभएको छ। सदस्य पदमा दीपक हुमागाईं, एलिजा थापा पौडेल, बिनम आचार्य र प्रदीप कुमार भडेल निर्वाचित हुनुभएको छ।

बोर्ड अफ ट्रष्टीतर्फ प्रमुख (चेयर) मा देवराज न्यौपाने र उपप्रमुख (भाइस चेयर) मा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। ट्रष्टी सदस्यमा हर्षबहादुर नाकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्यनारायण साह, टिकामाया गुरुङ र वर्षा गौतम निर्वाचित हुनुभएको छ।

यस निर्वाचनपछि नयाँ नेतृत्वले ग्यान्सलाई अझ सशक्त, एकताबद्ध, पारदर्शी र समुदायमैत्री संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार