Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

दोलखा भीमेश्वर : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको अनुपम धार्मिक पर्यटन गन्तव्य

दोलखा भीमेश्वर : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको अनुपम धार्मिक पर्यटन गन्तव्य

नेपाल प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरले सम्पन्न विश्वकै आकर्षक पर्यटन गन्तव्यहरूमध्ये एक हो। हिमाल, पहाड र तराईको अनुपम संगम रहेको नेपालमा हरेक वर्ष लाखौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने गर्छन्। पछिल्लो समय सडक, यातायात तथा सञ्चार पूर्वाधारको विस्तारसँगै देशका अधिकांश पर्यटकीय स्थल सहज पहुँचभित्र आएका छन्। यही कारण छोटो समयमै धेरै पर्यटकीय गन्तव्यको भ्रमण गर्न सकिने अवस्था बनेको छ।

Bhimeshwor-singh.jpg

काठमाडौंबाट करिब १३० किलोमिटर पूर्वमा रहेको दोलखा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध जिल्ला हो। निजी वा सार्वजनिक सवारीमार्फत करिब चार घण्टामै पुग्न सकिने भएकाले यो छोटो समयको उत्कृष्ट धार्मिक तथा पारिवारिक भ्रमण गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सहज सडक पहुँच, पर्याप्त होटल तथा रिसोर्ट, स्थानीय आतिथ्य र विविध पर्यटकीय आकर्षणका कारण दोलखा अहिले आन्तरिक मात्र होइन भारतीयसहित विदेशी पर्यटकको पनि रोजाइमा पर्दै गएको छ।

Bhimeshwor-1.1.jpg

दोलखाको परिचय विश्वप्रसिद्ध दोलखा भीमेश्वर (भीमसेन) मन्दिरबाट सुरु हुन्छ। यससँगै कालिञ्चोक भगवती मन्दिर, शैलुङ डाँडा, नेपालको “स्विट्जरल्यान्ड“ भनेर परिचित जिरी, विगु गुम्बा, तामाकोशी नदी क्षेत्र, गौरिशंकर हिमाल अवलोकन क्षेत्र तथा प्राचीन दोलखा शहरले यस जिल्लालाई धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेका छन्।

दुईदेखि चार दिनसम्मको उत्कृष्ट भ्रमण
काठमाडौंबाट बिहान यात्रा सुरु गर्दा चार घण्टाभित्र चरिकोट पुग्न सकिन्छ। बाटोभरि सुनकोशी, भोटेकोशी र पहाडी प्राकृतिक दृश्यले यात्रालाई थप रोमाञ्चक बनाउँछन्। चरिकोटबाट करिब २० मिनेटको दूरीमा रहेको विश्वप्रसिद्ध दोलखा भीमेश्वर मन्दिरमा दर्शन गरेर यात्रा सुरु गर्न सकिन्छ।

मन्दिर दर्शनपछि प्राचीन दोलखा शहरको भ्रमण विशेष आकर्षण हो। भीमेश्वर नगरपालिका–२ मा रहेको यो ऐतिहासिक बस्ती नेवार समुदायको मौलिक संस्कृति, परम्परागत वास्तुकला र द्वाल्खाको नेपाल भाषाका लागि प्रसिद्ध छ। यहाँ किराँतकालदेखि मल्लकालसम्मका मठ–मन्दिर, पुरातात्विक सम्पदा, दरबार क्षेत्र तथा परम्परागत नेवारी जीवनशैली अवलोकन गर्न सकिन्छ।

Bhimeshwor-3.jpg

शहरको पूर्वतर्फ रहेको चम्पूजा पार्कबाट तामाकोशी नदी र गौरिशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने उत्तरतर्फ रहेको मञ्जुश्री पार्कबाट कालिञ्चोक क्षेत्रको दृश्य, प्राकृतिक हरियाली तथा मौसमी फूलहरूले पर्यटकलाई लोभ्याउँछन्।

दोस्रो दिन कालिञ्चोक भगवती मन्दिर पुगेर केबलकारमार्फत हिमाली दृश्य, सूर्योदय र गौरिशंकर हिमशृंखलाको अविस्मरणीय दृश्यावलोकन गर्न सकिन्छ। समय पर्याप्त भए तेस्रो र चौथो दिन जिरी, शैलुङ, विगु गुम्बा, ग्रेटवाल तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भ्रमण गरेर दोलखाको बहुआयामिक पर्यटन अनुभव लिन सकिन्छ।

दोलखा भीमेश्वरः आस्था, इतिहास र रहस्यको केन्द्र
भीमेश्वर नगरपालिका–२ मा अवस्थित दोलखा भीमेश्वर (भीमसेन) मन्दिर नेपालकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मानिन्छ। हजारौँ वर्ष पुरानो इतिहास बोकेको यस मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, सिक्किमलगायतका क्षेत्रबाट वर्षभर भक्तजन दर्शनका लागि आउने गर्छन्।

नेवार समुदायले भीमेश्वरलाई आफ्नो इष्टदेवका रूपमा पूजा गर्ने परम्परा आजसम्म निरन्तर कायम राखेको छ। स्थानीय जनविश्वासअनुसार देशमा ठूलो राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति वा विशेष घटना आउनुअघि भीमेश्वरको शिलाबाट पसिना आउने, कम्पन हुने वा अन्य संकेत देखिने विश्वास रहँदै आएको छ। यही धार्मिक महत्वका कारण स्थानीय तहको नामसमेत भीमेश्वर नगरपालिका राखिएको हो।

bhimehwor-2.jpg

एउटै शिला, तीन स्वरूप
दोलखा भीमेश्वरको सबैभन्दा अनौठो विशेषता एउटै शिलालाई तीन फरक स्वरूपमा पूजा गर्ने परम्परा हो।

सामान्य समयमा भगवान भीमसेनका रूपमा पूजा गरिन्छ। व्यापार, व्यवसाय, समृद्धि तथा सफलताको कामना गर्दै भक्तजनले पूजा गर्ने गर्दछन्। हरेक दिन दिउँसो राजकीय सम्मानका साथ रासपूजा गर्ने परम्परा अहिले पनि स्थानीय गुठियारहरूले निरन्तर सञ्चालन गर्दै आएका छन्।

बिहान नित्य पूजा सम्पन्न भएपछि करिब १० बजेसम्म बलिपूजा गरिन्छ। यस अवधिमा भीमेश्वरको शिलामा भगवतीको शक्ति विराजमान हुने धार्मिक विश्वास छ।

त्यसपछि रुद्री पाठ गरिने भएकाले मध्यान्हसम्म भगवान महादेवको स्वरूपका रूपमा पूजा गरिन्छ। एउटै शिलालाई तीन फरक देवताको स्वरूपमा पूजा गर्ने परम्परा नेपालमै अत्यन्त दुर्लभ मानिन्छ।

पछिल्लो समय भीमेश्वरलाई सहस्ररूप स्वरूपमा समेत पूजा गर्ने परम्परा विस्तार हुँदै गएको छ।

Bhimeshwor-1-bhandar.jpg

विशेष पूजा परम्परा
दोलखा भीमेश्वर मन्दिरको मूलढोका हरेक दिन बिहान ४ बजे खोलिन्छ। त्यसपछि नित्य पूजा, बलिपूजा, रुद्री पूजा तथा दिउँसो रासपूजाको धार्मिक विधि सम्पन्न गरिन्छ।

मन्दिरमा चढाइने चामलसम्बन्धी विशेष धार्मिक परम्परा पनि रहेको छ। यहाँ ढिकीमा कुटेको चामल चढाइँदैन। केवल ओखलमा कुटिएको चामल मात्रै भगवानलाई चढाउने परम्परा आजसम्म कायम रहेको छ।

धार्मिक पर्यटनले बढाएको स्थानीय अर्थतन्त्र
दोलखा भीमेश्वरमा वर्षभर हजारौँ भक्तजन आउने भएकाले होटल, रेष्टुरेन्ट, होमस्टे, यातायात, हस्तकला, कृषि उत्पादन तथा स्थानीय व्यापारमा उल्लेखनीय आर्थिक योगदान पुगेको छ। वैशाख पूर्णिमा, नयाँ वर्ष, भीमएकादशी, बडादशैं, तिहार, बालाचतुर्दशीलगायत नेपालका अन्य मुख्य मुख्य चाडपर्व र जात्रामात्राका अवसरमा यहाँ भक्तजनको अत्यधिक भीड लाग्ने गर्दछ।

धार्मिक पर्यटनले स्थानीय युवालाई रोजगारी सिर्जना गर्नुका साथै पर्यटन व्यवसाय र स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

बसोबासको सहज व्यवस्था
चरिकोट, दोलखा शहर, कालिञ्चोक र जिरी क्षेत्रमा पर्यटकका लागि सामान्यदेखि सुविधासम्पन्न होटल, रिसोर्ट, होमस्टे तथा लज सहज रूपमा उपलब्ध छन्। परिवार, समूह वा एकल यात्राका लागि पनि दोलखा सुरक्षित र सुविधायुक्त गन्तव्य मानिन्छ। पर्यटकीय सिजनमा अग्रिम बुकिङ गर्नु उपयुक्त हुन्छ। 


धार्मिक आस्था, ऐतिहासिक महत्व, प्राकृतिक मनोरमता, हिमाली दृश्य, सांस्कृतिक सम्पदा र सहज पहुँचका कारण दोलखा आज नेपालकै उत्कृष्ट धार्मिक पर्यटन गन्तव्यहरूमध्ये एकका रूपमा स्थापित भएको छ। भगवान दोलखा भीमेश्वरको दर्शन, कालिञ्चोक भगवतीको आशीर्वाद, शैलुङको प्राकृतिक सौन्दर्य, जिरीको शीतल वातावरण र प्राचीन दोलखा शहरको सांस्कृतिक सम्पदाले हरेक यात्रुलाई अविस्मरणीय अनुभव प्रदान गर्छ।

नेपाल भ्रमण गर्ने हरेक आन्तरिक तथा बाह्य पर्यटकले जीवनमा कम्तीमा एकपटक दोलखा भ्रमण गर्नुपर्ने धार्मिक, ऐतिहासिक र सांस्कृतिक गन्तव्यका रूपमा यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ।

bhimeshwor-comp.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार