Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै ‘खीर दिवस’

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै ‘खीर दिवस’

आज साउन १५ गते देशभर नेपालीहरूले परम्पराअनुसार खीर खाएर ‘खीर दिवस’ मनाइरहेका छन्। असार १५ मा दही–च्यूरा खाने र साउन १५ मा खीर खाने नेपाली समाजको मौलिक परम्परा पुस्तौंदेखि निरन्तर चलिआएको छ। वर्षा ऋतुको चिसो मौसममा तातो खीर खानु स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका साथै यसले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व पनि बोकेको छ।

नेपाली समाजमा खीरलाई केवल मिठो परिकारका रूपमा मात्र नभई शुभकार्य, पूजा–आराधना र पारिवारिक सद्भावको प्रतीकका रूपमा पनि लिइन्छ। दूध, चामल, चिनी, घ्यू, सुकमेल, दालचिनी, किसमिस, काजु, बदामजस्ता सामग्री मिसाएर बनाइने खीर स्वादिष्ट मात्र होइन, पोषणयुक्त परिकार पनि हो। यही कारण साउन १५ मा अधिकांश नेपाली परिवारमा बिहानैदेखि खीर पकाउने र आफन्त तथा छिमेकीसँग बाँडेर खाने चलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार संस्कृत भाषामा खीरलाई ‘पायस’ भनिन्छ। पायस सात्त्विक भोजनमध्ये उत्कृष्ट मानिने भएकाले वैदिक कालदेखि नै श्राद्ध, यज्ञ, पूजा तथा अन्य धार्मिक अनुष्ठानमा यसको विशेष प्रयोग हुँदै आएको छ। पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस खुवाउने परम्परा आज पनि कायम रहेको उहाँ बताउनुहुन्छ। यद्यपि साउन १५ मै खीर खानुपर्ने भन्ने स्पष्ट शास्त्रीय व्यवस्था भने नरहेको उहाँको भनाइ छ।

साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। हिन्दू धर्मावलम्बीहरू साउनभर शिवालयमा पुगेर दूध, जल र बेलपत्र चढाई पूजा–आराधना गर्छन्। भगवान् शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण साउन महिनामा खीर बनाएर शिवलाई चढाउने र त्यसपछि प्रसादका रूपमा ग्रहण गर्ने चलन पनि व्यापक छ। यसले साउन १५ को खीर खाने परम्परालाई धार्मिक आस्थासँग थप जोडेको छ।

गाउँघरमा पनि साउन १५ विशेष महत्वका साथ मनाइन्छ। असारभरि धान रोपाइँलगायतका मुख्य कृषि कार्य सकिएपछि किसानले केही फुर्सद पाउँछन्। यस समयमा वर्षाका कारण हरियाली बढ्ने, गाई–भैँसीले प्रशस्त दूध दिने भएकाले घरमा खीर पकाएर इष्टमित्र, आफन्त तथा चेलीबेटीलाई निम्त्याएर खुवाउने सामाजिक परम्परा विकास भएको मानिन्छ। यसले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।

नेपालका विभिन्न समुदायमा खीर बनाउने शैली पनि फरक–फरक पाइन्छ। कतै चामलको खीर लोकप्रिय छ भने कतै साबुदाना, सेवइ, मकै वा गाजरको खीर बनाइन्छ। विशेषगरी साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर खाने चलन पनि धेरै ठाउँमा प्रचलित छ। खीर खानुअघि देवतालाई चढाएर मात्र खाने धार्मिक विश्वास अझै पनि धेरै नेपाली परिवारमा कायम छ।

नेपाली बृहत् शब्दकोशले खीरलाई दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् ‘पायस’का रूपमा परिभाषित गरेको छ। नेपाली संस्कृतिमा वर्षका विभिन्न महिनामा विशेष परिकार खाने परम्परा पनि रहिआएको छ। असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घ्यू–खट्टे तथा माघ १५ मा मालपुवा बनाएर आफन्त र छोरीचेलीलाई बोलाएर खाने चलन आज पनि धेरै स्थानमा जीवित छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दूधबाट बनेको खीरले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ। दूधमा पाइने प्रोटिन, क्याल्सियम, चिल्लो र ल्याक्टोजले शरीरलाई सन्तुलित पोषण दिने भएकाले खीरलाई पोषणयुक्त परिकार मानिन्छ। नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा करिब ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन रहने उल्लेख गरिएको छ।

खीरको महत्वलाई अझ संस्थागत बनाउन राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ फागुन १५ गते बसेको बैठकबाट साउन १५ लाई औपचारिक रूपमा ‘खीर खाने दिन’ (खीर दिवस) का रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष साउन १५ मा विभिन्न संघसंस्था तथा सर्वसाधारणले खीर दिवस मनाउँदै आएका छन्।

परम्परा, संस्कृति, धार्मिक आस्था, पारिवारिक एकता र स्वास्थ्य लाभलाई एउटै सूत्रमा बाँध्ने साउन १५ को खीर खाने संस्कार नेपाली समाजको मौलिक पहिचान बनेको छ। आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि यो परम्परा आज पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार